
जिरी(दोलखा) । घरमै बसी–बसी रोजगारी प्राप्त गर्ने अवसर विरलै मानिसलाई मिल्छ । ग्रामिण क्षेत्रमा त झनै यो कुरा असम्भव जस्तै रहन्छ । युवाअवस्थाका महिलाहरु रोजगारीको खोजीमा विदेशीने क्रम बढ्दो छ ।
गाउँमा भएका महिलाहरुको दैनिकी पनि मेलापात, घाँस दाउरा र चुल्होचौकोमा सिमित हुने गरेको छ । जसका कारण अधिकाँश ग्रामीण महिलाहरु नियमित आम्दानीको स्रोत नहुँदा कष्टकर जिन्दगी जिउँदै आएका छन् ।
यो परिवेशमा जिरी नगरपालिका–५ नम्बर वडाका महिलाहरुले भने नियमित रोजगारीकालागि नयाँ कामको शुरुवात गरेका छन् । यहाँका १७ जना महिलाहरुले घरमै बसेर स्थानीयस्तरमै पाइने अल्लो प्रशोधनगरी धागो बनाउन सुरु गरेका छन् । जुन उनीहरुका लागि आंशिक रोजगारी र नियमित आम्दानीको स्रोत बनेको छ । उनीहरुलाई पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन (इबीए) र जिरी नगरपालिकाको साथ छ ।
अल्लोबाट धागो उत्पादन र धागोबाट अल्लोको विभिन्न प्रकारका लुगाहरु, झोला, जुत्ता, चप्पल, गलैँचा लगायतका सामाग्रीहरु बनाउने सपना बोकेका महिलाहरुले केही समय अघि मात्रै तालिम लिए । जिरीमै लिएको तालिमबाट १७ जना महिला लाभान्वित भए । निशुल्क सीप सिक्ने अवसरका साथसाथै उनीहरुले नगर र इबीएबाट अल्लोको धागो बनाउने मेसिन पनि पाए । तालिम र मेसिन पाएपछि यहाँका महिला निकै उत्साहित मात्रै भएका छैनन्, धागो बनाएर आम्दानी समेत लिन सुरु गरिसकेका छन् ।
जिरी नगरपालिका र आसपासको भूगोलमा अल्लो प्राकृतिक रुपमै पाइन्छ । घाँस र सोतरमा प्रयोग हुने अल्लो अहिले आम्दानीको स्रोतमा परिणत हुँदैछ । त्यही वनस्पतिवाट कपडा बन्ने ज्ञान पाएपछि महिलाहरु अल्लो प्रशोधनगरी धागो बनाउन लागेका हुन् । उनीहरुको दिनचर्या धागो बनाउँदै बित्ने गरेको छ । इबीए परियोजनाले महिलाका लागि मेसिनको व्यवस्था गरिदिएपछि झनै सजिलो भएको छ । इबीएले समुदायमा आधारित जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत बिटर मेसिन र भुवा बनाउने मेसिन एक/एक वटा तथा धागो बनाउने चर्का १० वटा गरी ४ लाख ७० हजार बराबरको मेसिन हस्तान्तरण गरेको छ ।
इबीएका जिल्ला आयोजना संयोजक विनोद थापाका अनुसार सो कार्यक्रम अन्तर्गत जिरीमा १३ लाख बजेट खर्च भएको छ । इबीएले अल्लो प्रशोधन गरी रोजगारीमा लागेका महिलाहरुको लागि जिरी नगरपालिका ५ नम्बर वडा कार्यालय नजिकै दुई कोठाको भवन पनि निर्माण गरिदिएको छ ।
कसरी बनाउने अल्लोबाट धागो
वनजंगलमा खेर गइरहेको अल्लो पछिल्लो पटक जिरीमा कमाइको स्रोत बनेको छ । अल्लो १२०० मिटरभन्दा माथि मात्रै पाइन्छ । जिरीको उच्च भेगको जंगलहरुमा अल्लो उपलब्ध छ । अल्लो प्रशोधन गरी धागो बनाउन वनबाट अल्लो काटेर ल्याएर लोक्ता काड्ने, खरानी–पानीमा पकाउने, कुट्ने, स्वच्छ पानीमा धुने, कमेरो लगाएर सुकाउने र कुटेपछि मात्र अल्लोको भुवा तयार हुन्छ ।
भुवाबाट धागो बाटेर कपडा लगायतका विभिन्न सामग्री बनाउन सकिन्छ । अल्लो समुन्द्री सतहदेखि १२ सय मिटर माथिको पहाडी भू–भागमा पाइने वनस्पति हो । अल्लोको बोक्रामा हुने रेशा नरम, बलियो र चम्किलो हुने भएकोले धागो बनाउन प्रयोग गरिन्छ ।
यसरी शुरु भयो जिरीमा अल्लो प्रशोधन
जिरीमा पहिलो पटक स्थानीय नाइके जिरेलले अल्लोको धागो बनाएर कपडासम्म बुन्ने ‘कन्सेप्ट’ बनाउनुभयो । दुई वर्ष अघिको कुरा हो । उहाँले टेलिभिजन हेरिरहँदा अल्लो र अल्लोबाट गर्न सकिने उत्पादनको बारेमा जानकारी पाउनुभयो । त्यहाँ मानिसहरु अल्लोबाट कसरी आयस्रोतमा निर्भर बन्न सक्छन् भन्ने बारेमा कसैले अन्तवार्ता दिँदै थिए । त्यही हेरेर उत्प्रेरित जिरेलले जिरीमा पनि यसको राम्रो सम्भावना देख्नुभयो र अल्लोको प्रयोग गरेर धागो निकाल्ने निधो गर्नुभयो ।
जिरेलसँग अर्का साथि लोकेन्द्र जिरेलको सहकार्य छ । दुई जनाले व्यवस्थापन गर्नेगरी अहिले स्थानीय १७ जना महिलाको समूह अल्लोबाट धागो बनाउन सक्रिय छन् । नाइके र लोकेन्द्रले अल्लो खोजेर ल्याइदिने काम गरेपछि महिलाहरुलाई धागो बनाउन सहजभएको छ । अहिले धागो बाटेर जम्मा पारेर राखिएको छ । विस्तारै पछि जिरीमै अल्लोको कपडा, जुत्ता, चप्पल लगायतका सामानहरु उत्पादन गर्ने उनीहरुको योजना छ ।
निवर्तमान जिसस उपप्रमुख पनि धागो बाट्दै
जिल्ला समन्वय समिति दोलखाका निवर्तमान उपप्रमुख मनमाया जिरेलको पनि दिनचर्या आज भोली अल्लोको धागो बाट्दै वित्छ । उहाँ विहानै उठ्नुहुन्छ र धागो बाट्न बस्नुहुन्छ, दिउँसो घरको अन्य काम सकेर राती अबेर सम्म फेरी धागो नै बाट्नुहुन्छ ।
जिरी नगरपालिका स्थायी घर भएका जिरेल स्थानीय दिदिबहिनीहरुलाई उत्प्रेरणा दिनको लागि धागो बाट्न लागेको बताउनुहुन्छ । ‘म स्थानीय दिदिबहिनीहरुको उत्प्रेरणाको स्रोत बन्नको लागि धागो बाट्न लागे, अहिले हाम्रो टिममा १७ जना छौं,’उहाँ भन्नुहुन्छ–‘अल्लोको धागो बनाउने काममा अरु धेरै महिला इच्छुक हुनुहुन्छ । उहाँहरुलाई पनि तालिम र मेसिन उपलव्ध भए अझ राम्रो हुने थियो ।’
यो पेशामा संलग्न हुन पाएपछि स्थानीय रसमाया जिरेल निकै खुसी हुनुहुन्छ । विगतमा पनि ऊनको झोला, सुइटर, टोपी, मोजा लगायतका कपडा बुन्दै आउनुभएका उहाँले अहिले अल्लोको धागो निकाल्ने अवसर पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
यो पेशाले जिरीका महिलाहरुको आयस्रोतको बाटो समेत खुलेको छ । विशेषगरी दीर्घकालीन सोचका साथ लागेका महिलाहरुलाई आर्थिक अवसर प्रदान गर्नुको साथै महिला सशक्तिकरणमा समेत यसले टेवा पुर्याउँछ । चुलोचौको र सामान्य घर व्यवहार मात्रै सम्हाल्दै आएका महिलाहरुले कपडा बुन्न सुरु नहुँदै धागोबाटै किलोमा ८ सय देखि हजार रुपैंया सम्म कमाउन थालिसकेका छन् ।
कालिञ्चोकमा महिलाहरु अल्लोको कपडा बुन्दै
हिमाली जिल्ला दोलखाको जिरीमा मात्रै नभई कालिञ्चोक गाउँपालिकामा पनि महिलाहरुले यो कामलाई पेशाको रुपमा सुरुवात गरेका छन् । कालिञ्चोक–६ मा २० जना महिलाहरुलाई इबीएले अल्लाको कपडा बुन्ने तालिम प्रदान गरेको छ । उद्योगदर्ता गरी धागो मात्रै निकाल्दै आएका ती महिनाहरुले तालिम पाएपछि कपडा बुन्न थालेका छन् ।
उनीहरुका लागि इबीएले ३ लाख र वडाले ८० हजार रुपैंया खर्च गरेको थियो । आर्थिक स्रोतको हिसावले राम्रो मानिने यो पेशा महिला र पुरुष दुवैको लागि उपयुक्त छ । जिरीमा अल्लोको धागो बनाउन सक्रिय महिलाहरु पनि अब कपडा बुन्न चाहन्छन् । उनीहरुले कपडा बनाउन जान्नेगरी तालिम र मेसिनको समेत सहयोगको लागि नगरपालिका र इबीएसँग आग्रह गरेका छन् ।
बजारिकरणको लागि कोशेली घर स्थापना
जिरी नगरपालिकाले अल्लोबाट धागो र कपडा उत्पादन गर्न प्रोत्साहन गर्दै बजारिकरणका लागि कोशेली घरको व्यवस्था गरेको जनाएको छ । उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले उनीहरु दिर्घकालीन सोचका साथ सक्रिय भएर उत्पादनमा लागिपरेमा बजारिकरणका लागि नगरले सहयोग गर्ने बताउनुभयो ।
साथै उहाँले नगरले उत्पादनको आधारमा अनुदान दिने कार्यक्रम समेत ल्याएकोले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन र दीर्घकालीन रुपमा उक्त पेशालाई अबलम्बन गर्न नगरको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।