जिरी (दोलखा) । हिमाली जिल्ला दोलखामा ७० वर्षमा १ सय ७६ जनाले वैवाहिक अंगिकृत नागरिकता लिएका छन् ।
नेपालमा वैवाहिक अंगीकृत नागरिकता २००९ सालबाट वितरण गर्न थालिएकोमा दोलखामा हालसम्म १ सय ७६ जनाले लिएका हुन् । गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा पछिल्लो ७० वर्षमा ४ लाख १६ हजार ५ सय ४९ जनाले वैवाहिक अंगिकृत नागरिकता लिँदा दोलखाका १ सय ७६ जनाले पनि लिएका छन् । चीनसँग सिमाना जोडिएको दोलखाबाट अंगीकृत नागरिकता लिनेमा चिनियाँ नभई भारतीय महिला बढी देखिएका छन् । जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार दोलखामा पछिल्लो दुई आर्थिक वर्षमा मात्रै ९ जनाले नेपालको अंगिकृत नागरिकता लिएका छन् । गत आर्थिक वर्ष नेपाली पुरुषसँग विवाह गरेका ७ जना भारतीय महिलाले र अघिल्लो वर्ष १ जना भारतीय र एक जना फिलिपिन्सकी महिलाले आफ्नो मुलुकको नागरिकता त्याग गरी नेपालको अंगिकृत नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय दोलखाका सुचना अधिकारी औलाख बहादुर आलेले जानकारी दिनुभयो ।
बागमती प्रदेशको कुन जिल्लामा कतिले लिए ?
दोलखा सहित १३ जिल्ला समेटिएको बागमती प्रदेशमा वैवाहिक अंगीकृत नागरिकता लिनेको संख्या २ हजार ८७ छ । संघीय राजधानी समेट अटाएको बागमती प्रदेश अन्तर्गत पर्ने काठमाण्डौंमा ७ सय ३५ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । यसैगरी ललितपुरमा २ सय १२, भक्तपुरमा ९९, काभ्रेपलाञ्चोकमा ९१, मकवानपुरमा १ सय ४८, धादिङमा ६५, नुवाकोटमा ४८, रामेछापमा ४३, सिन्धुपाल्चोकमा ८४ र रसुवामा १७ जना जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् । वैदेशिक रोजगारीको शिलशिलामा माया प्रेममा परेपछि नेपाली युवाहरुले विदेशी महिलालाई विवाह गरेर गाउँसम्म ल्याउने ल्याउने गरेका छन् । यसरी विवाह गरेर आउने विदेशी महिलालाई कतिपयले नेपाली नागरिकताको प्रमाण पत्र दिएका छन् ।
तर, अहिले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि वैवाहिक अंगीकृत नागरिकताको बहस फेरि सतहमा आएको छ । हाल सत्तारुढ दल राष्ट्रपतिले नागरिकता विद्येयकलाई प्रमाणीकरण गर्नुपर्ने अडानमा छन् भने नेकपा एमालेले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले निश्चित समयपछि वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्था गर्नुपर्ने अडान लिएको छ । पछिल्लो ७० वर्षदेखि हुँदै आएको ४ लाख १६ हजार वैवाहिक अंगीकृत नागरिकता हाल चर्को राजनीतिक मुद्दा बनेको छ ।










