images
images

सिमसिम पानीका वीच स्वतन्त्र पार्टीको दोलखा जिल्ला भेला, छाता ओढेर सुनियो रविको भाषण

  • १५ भाद्र २०७९, बुधबार १९:३२

दोलखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विधिको शासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्नकालागि आफुहरुले नयाँ पार्टीको स्थापना गरेर जनतामाझ आएको बताउनुभएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा आज आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाको जिल्ला भेलालाई सम्वोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले देशलाई बेथितिवाट विधिमा ल्याउनकालागि र भ्रष्टाचारलाई जरैदेखि उखेलेर शुसासनयुक्त देश निर्माणकालागि स्वतन्त्र पार्टी जन्मिएको बताउनुभयो । राज्यको श्रोत साधनमा नेता र नेताका नजिकका कार्यकर्तालाई मात्रै पोस्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको भन्दै आसन्न निर्वाचनमा स्वतन्त्र पार्टीलाई बिजयी गराएर संसदमा पठाउन लामिछानेले अपिल पनि गर्नुभयो ।

चरिकोटको सातदोवाटो चोकमा आयोजित जिल्ला भेलाको उद्घाटनका क्रममा सभापति लामिछानेले भ्रष्टहरुलाई सलाम गरेर बसिरहेका सुरक्षाकर्मीको मनोवल उच्च पार्ने दायित्व समेत आफुहरुको काँधमा आएको धारणा राख्नुभयो । स्वतन्त्र पार्टीको जिल्ला भेला भव्यरुपमा सम्पन्न गर्ने प्रचार गरिए पनि सहभागिता भने उल्लेख्य हुन सकेन । सातदोवाटो चोकमा आयोजना गरिएको कार्यक्रमका सहभागिहरुले सिमसिम पानीका वीच छाता ओढेर सहभागिता जनाएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।