काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशमा भएजस्तो नेपालमा केही नहुने दावि गर्नुभएको छ ।
नेपालको आफ्नै ईतिहाँस र परम्परा रहेको दाबी गर्दै प्रधानमन्त्री ओलीले बंगलादेशमा केही भयो भन्दैमा नेपालमा त्यस्तो नहुने दाबी गर्नुभएको हो । उहाँले नेपाल कुनै देशको फोटोकपी मेसिन नभएको तर्क गर्नुभयो । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बेथिति चलाउन नसकिने र आजको समयमा चलाउन पनि नहुने बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि श्रीलंका र बंगलादेशबाट पाठ नसिके नेपालमा पनि त्यस्तो घट्ना हुने चेतावनी दिनुभएको थियो । त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘श्रीलंका र बंगलादेशबाट सिक भनेर चर्काे स्वरमा भन्दै हुनुहुन्छ । म भन्न चाहन्छु –राम्ररी सिक । पूर्वप्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै प्रधानमन्त्री ओली भन्नुहुन्छ, हिजोतिर हो क्यार प्रचण्डजीले श्रीलंका र बंगलादेशबाट सिक भनेर अर्ती उपदेश दिनुभएछ । मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? मैले लुटपाट गरेको छ र खुट्टा कमाउने ? मैले त डराउनुपर्ने केही छैन ।’
प्रधानमन्त्री ओलीले आफु ५ हजार फिट माथिबाट हेलिकप्टर दुर्घटना हुँदा पनि बाँचेको भन्दै कसैको डरभर नभएको जिकिर गर्नुभयो । आफु समयमै नेतृत्व हस्तान्तरण गर्न तयार रहेको भन्दै उहाँले अब १ वर्ष १० महिना १५ दिन मात्रै बाँकी रहेको बताउनुभएको छ ।