जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकामा भोलीदेखि हुने जिरी च्याम्पियनसिप खेलकुद प्रतियोगिता २०८० को सम्पूर्ण तयारी पुरा भएको छ ।
जिरी नगरपालिका र युवा सञ्जाल जिरीको संयुक्त आयोजनामा भोलीदेखि हुने सर्वाधिक राशीको जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबलको तयारी पूरा भएको हो । जिरी च्याम्पियनसिपको उद्घाटन बागमती प्रदेशसभा सदस्य कुण्दनराज काफ्ले र समापन प्रतिनिधिसभा सदस्य गंगा कार्कीले गर्ने कार्यक्रम तय भएको युवा सञ्जाल जिरीका संस्थापक अध्यक्ष एवम् सल्लाहकार केन्द्र ज्योति खड्काले बताउनुभयो ।
खेलकुदको माध्यमबाट जिरीको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न खेलहरु हुनेछन् । प्रतियोगितामा बागमती प्रदेशस्तरीय अन्तर पालिका खुला भलिबल प्रतियोगिता, जिरी भ्याली माउन्टेन सर्किट अल्ट्रा म्याराथन, स्लो बाइक रेस प्रतियोगिता र स्थानीय खेलहरु हुने युवा सञ्जाल जिरीले जनाएको छ । प्रतियोगितालाई सफल बनाउन नगरपालिकाभित्रबाट खेलमा सहभागी हुन चाहने खेलाडीहरुले आपसी समन्वय र सहकार्य गरी प्रत्येक खेलमा एउटा मात्रै टिम दर्ता गरी टिमलाई सफल र व्यवस्थित बनाउन जिरी नगरपालिकाले आग्रह गरेको छ ।
जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल अन्तर्गत खुला भलिबल प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ५१ हजार रहेको छ भने दोश्रो, तेश्रो र सान्तवना पुरस्कार क्रमश १ लाख १ हजार, ५१ हजार र २५ हजार रुपैयाँ रहेको छ । यस्तै, अल्ट्रा म्याराथनमा पहिलो, दोश्रो र तेश्रो हुनेले १० हजार, ७ हजार र ५ हजार पुरस्कार पाउने छन् । बाइक रेसका बिजेताहरुलाई पनि ७ हजार, ५ हजार र ३ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगितामा १७ लाख १६ हजार खर्च लाग्ने आयोजकको अनुमान छ । युवा सञ्जाल जिरीले जिरीको पर्यटन तथा खेलकुदको विकासका लागि प्रतियोगिताको आयोजना गरेको भन्दै विभिन्न संघसंस्था, रोजगारीका लागि देश विदेशमा रहेका इच्छुक व्यक्तिहरुबाट आर्थिक सहयोगको अपिल गरेपछि धमाधम सहयोग संकलन भइरहेको छ । प्रतियोगिता कात्तिक १८ गते सम्म जारी रहनेछ । सो अवधिमा आयोजना स्थल जिरी लिङ्कन बजारमा साँझ ९ बजेसम्म विभिन्न साङ्गितिक कार्यक्रमको समेत आयोजना गरिएको आयोजकले जनाएको छ । युवा सञ्जाल जिरीले जिरीमा पर्यटन प्रवद्र्धनका लागि नगरपालिकासँगको सहकार्यमा वर्षेनी फरक–फरक कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
यसअघि राष्ट्रिय हुचिल तथा लाटोकोसेरो उत्सव, जिरी स्ट्रिट फुड फेस्टिभल लगायत कार्यक्रमहरु सञ्चालन गरिएको थियो ।










