images
images

चीन मै नेपाली टोली भेट्दै वर्षमान पुन

  • १६ पुष २०७८, शुक्रबार ०३:५८

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन्। सोमबारमात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले बिहीबार ग्वान्झाओका महावाणिज्यदूतलगायतको टोलीसँग भेट गरेका हुन्। भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए।

भेटका क्रममा नेपाली टोलीले चीनसँगको व्यापार तथा पारवहनलगायत क्षेत्रमा अवस्था सहज बनाउनका लागि नेपाल सरकारको ध्यानाकर्षण गराइदिन माग गरेका थिए। नेता पुनको स्वास्थ्य लाभको कामना गर्न सेनजेनस्थित अस्पतालमा पुगेका उनीहरुले तातोपानी तथा केरुङ नाकाबाट आयात निर्यातको मात्रा बढाउनुपर्ने, नेपाल चीनबीचको उडान सुचारु गराउन नेपाल सरकारले पहल गर्नुपर्ने बताएका थिए। नेता पुनले यस विषयमा नेपाल सरकारसँग छलफल गरेर पहल गर्ने जवाफ दिएको भेटमा सहभागी नेता पुन पत्नी ओनसरी घर्तीले जानकारी दिइन्।

महावाणिज्यदूत पुडासैनीले चीन सरकार नेपालको कृषि, वाणिज्य तथा व्यापारलगायतका क्षेत्रमा सहयोग र ऊर्जा लगायतका क्षेत्रमा लगानी गर्नसमेत उत्सुक रहेकाले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए।

नेता पुनसँग केही दिन अघि ल्हासाका महावाणिज्यदूत नवराज ढकालले पनि भेट गरेर स्वास्थ्य लाभको कामनासहित दुई देशबीचको व्यापार र वाणिज्यको क्षेत्र फराकिलो बनाउन पहल गरिदिन माग गरेका थिए।