images
images

माओवादीका नेतृत्व चयनको प्रक्रिया आजैबाट सुरु हुने

  • १६ पुष २०७८, शुक्रबार ०४:५२

जारी आठौं महाधिवेशनमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदैछन्।

दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ।

त्यसअघि बन्दसत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत हुनेछन्। ती प्रतिवेदन पारित भएसँगै प्रचण्डले जवाफ दिनेछन्। प्रचण्डको जवाफपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।

निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले विधान संशोधन प्रस्ताव हलबाट अनुमोदन भएपछि संशोधित विधान अनुसार केन्द्रीय समिति चुन्न निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिए ।

माओवादी विधानमा बन्द सत्रबाट केन्द्रीय समिति निर्वाचित हुने र केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रावधान छ। स्रोतका अनुसार माओवादीको केन्द्रीय सदस्यको नाम पेश गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिने सम्भावना छ। माओवादीका १० वटा प्रदेश समिति छन्।

विधान अनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। त्यो केन्द्रीय समितीले बल्ल अध्यक्ष सहितको १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ।

प्रत्यक प्रदेशलाइ क्ल्ष्टर, भूगोल र जनसंख्या लगायत मिलाएर पठाउन निर्देशन दिने तयारी छ। ‘समावेशी, समानुपातिक रुपमा क्लष्टर मिलाएर नाम माग्ने र सोही नाम बन्दसत्रमा प्रस्ताव गर्ने तयारी छ,’ स्रोतले भन्यो, ‘प्रत्येक प्रदेशसँग केन्द्रीय सदस्यको नाम पठाउन स्थायी समितिले निर्देशन दिने सम्भावना छ। निर्वाचन वा सहमतीय जुनसुकै विधिबाट पनि प्रदेशहरुले केन्द्रीय सदस्यको नाम पठाउन सक्छन्।’

तर, त्यसरी नाम पठाउँदा जनसंख्या, भूगोल, त्यो क्षेत्रमा रहेको जनजाति आदिवासी, मधेस वा अन्य कुनै समुदायको संख्याका आधारमा प्रस्ताव गर्नुपर्नेछ।