आज सन् २०२१ को अन्तिम दिन। यो वर्ष अफगानिस्तानमा २० वर्षपछि तालिबानहरू सत्तामा फर्किए। अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नयाँ सुरक्षा साझेदारीको घोषणा गरे। यो वर्ष पनि विश्व व्यापारमा नियन्त्रणका लागि अमेरिका र चीनबीच प्रतिस्पर्धा चल्यो। दुई देशका नेताबीच ‘शीतयुद्ध’ नै चल्यो। विश्वले लामो समयसम्म सम्झने सन् २०२१ का प्रमुख घटना यहाँ प्रस्तुत गरिएको छ।
१. मानिसलाई आक्रमण गर्ने स्वचालित ड्रोन
आर्टिफिसियल इन्टिलिजेन्स(एआई)ले पहिले पटक द्वन्द्व ग्रस्त क्षेत्रमा गएर ड्रोन हमला भएको वर्षको रुपमा यो वर्ष चिनिएको छ । संयुक्त राष्ट्र संघले मान्यता दिएको त्यहाँका अन्तरिम सरकार र विद्रोही नेता खलिफा हफ्तारका सेनाबीच भइरहेको द्वन्द्वग्रस्त क्षेत्रमा टर्कीको सैन्य ठेकेदावरद्वारा निर्मित कोर्गु–२ ड्रोन त्यहाँ उपस्थित थियो । मानिसले दिने कमान्डका कारण लडाइमा ड्रोनहरु प्रयोग हुने गरेपनि एआई आपैंm द्वन्द्वग्रस्त क्षेत्रमा पुगेको यो घटना पहिलो भएको राष्ट्र संघले जनाएको छ ।
२. म्यानमारमा पुनः सैनिक ‘कू’, सुची नजरबन्दमा
म्यानमारमा सेनाले फेब्रुअरी १ को बिहानै ‘कू’ गर्दै सत्ता हत्याएको थियो। सेनाले नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सु ची र राष्ट्रपति विन मिन्ट लगायतलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। सेनाले अधिकांश सांसदलाई पनि गिरफ्तार गरेको थियो। नेताहरुलाई पक्राउ गरेको केही घण्टापछि सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको थियो। सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको थियो।
३. तारबिना मानिसको दिमाग र कम्प्युटरसंगै जोडियो
मानिसको दिमागमा पहिलो पटक ट्रान्सिमिटर डिभाइजको प्रयोग गरेर कम्प्युटरसँग जोडियो । यसअघि अनुसन्धान गर्दा सेन्सरसँग तार जोडेर कम्प्युटरमा जोडिने गरेपछि ट्रान्समिटरको प्रयोग गरेर कम्प्युटरसँग कनेक्सना गराइयो । ब्रोन विश्वविद्यालयका वैज्ञानिकहरुले मेरुदण्डको नशामा भएको चोटपटकको अध्ययन गर्ने क्रममा पहिलो पटक एक प्यारालाइस भएका व्यक्तिको यो प्रयोग गरे । उनीहरुले प्रयोग गर्दा ती पारालाइसिस भएका व्यक्तिले दिमागमा सोचेको भरमा रोबोटिक लिम्ब्सहरु चलेको थियो । यो अनुसन्धानकै क्रममा भएकाले पूर्णता नपाएको वैज्ञानिकहरुले जनाएका छन् ।
४.उत्तर कोरियामा ११ दिनसम्म हास्न र किनमेलमा प्रतिबन्ध
उत्तर कोरियाका पूर्वनेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं पुण्यतिथिको अवसरमा ११ दिनसम्म शोकको घोषणा गरिएको थियो। शोकको घोषणा गर्दै उत्तर कोरियाले आफ्नो नागरिकलाई डिसेम्बर १७ देखि ११ दिन हाँस्न, रक्सी पिउन र किनमेलका लागि प्रतिबन्ध लगाएको थियो। यी ११ दिनमा कसैको मृत्यु भएमा रुनसमेत अनुमति थिएन। त्यस्तो परिवारले शवलाई राष्ट्रिय शोकपछि मात्र घरबाट निकाल्नु पर्ने बीबीसीले समाचारमा उल्लेख गरेको थियो। यस अवधिमा जन्मदिनसमेत मनाउन प्रतिबन्धित थियो। १७ डिसेम्बर दिउँसो पूरै देशमा एक साथ साइरन बजाइएको थियो र मानिसहरु तीन मिनेटका लागि कुमसुसान दरबारको दिशामा उभिएर इललाई श्रद्धाञ्जली दिएका थिए। किम जोङ इलको मृत्यु २०११ डिसेम्बर १७ मा भएको थियो। उनको मृत्युको दुई दिनसम्म कुनै आधिकारिक घोषणा गरिएको थिएन। दुई दिनपछि सरकारी सञ्चारमाध्यममा यसबारे घोषणा गरिएको थियो।
५. मनाेरन्जनमा स्क्विड गेमको प्रभाव
२०२१ मा विश्वले याद गर्ने अर्को घटना हो, ‘स्क्विड गेम’ वेब सिरिजको प्रदर्शन। नेटफिल्क्समार्फत रिलिज भएको यो सिरिजले विश्वलाई नै चकित बनाइदियो। नेटफिल्क्सको इतिहासकै सबैभन्दा सफल र धेरै आम्दानी गर्ने सिरिज बन्यो। दक्षिण कोरियाली यो सिरिजमा बालबालिकाले खेल्ने विभिन्न ६ वटा खेलहरुमार्फत जीवन र मृत्युको कथालाई देखाइएको छ। ह्वाङ दुक ह्युकको निर्देशनमा बनेको यो सिरिज सेप्टेम्बर १७ मा प्रदर्शनमा आएसँगै ऋणैऋणमा डुबेको नेटफिल्क्सलाई उकास्ने मात्रै नभएर मानिसबाट हराइरहेको यसको साखलाई पनि जोगाउनमा उत्तिकै भूमिका खेल्यो। तथ्यांकका अनुसार नेटफिल्क्सले कुल १ बिलियन अमेरिकी डलर आसपासको आम्दानी गरेको छ। सिरिजको निर्माण भने २१ मिलियन अमेरिकी डलर खर्च गरेर बनाइएको थियो।
६. नासाको पर्सिभरेन्स रोभरले मंगल ग्रहमा बनायो अक्सिजन
मंगल ग्रहमा रहको नासाको पर्सिभरेन्स रोभरले यो वर्ष त्यही अक्सिन उत्पादन गरेको छ । मंगल ग्रहको वायुमण्डलबाट पर्सिभरेन्सले मोक्सी उपकरणका मद्दतमा अक्सिन उत्पादन गरेको हो । मार्स अक्सिजन इनसिटू रिसोर्स युटिलाइजेसन एक्सपेरिमेन्ट (एमओएक्सआईई) प्रविधिले मंगल ग्रहमा रहेको कार्बन डाआइक्साइडबाट अक्सिजन उत्पादन गर्छ । यो अनुसन्धानकै क्रममा भएकाले भविष्यमा मंगल ग्रहमा हुने ह्युमन मिसनमा यसले सहयोग पुग्ने बताइएको छ ।
७.स्वेज नहरमा पानीजहाज फस्दा विश्वकै महँगो ट्राफिक जाम
विश्वकै व्यस्त व्यापारिक मार्ग इजिप्टको स्वेज नहरमा मार्च २३ मा मालवाहक पानीजहाज अड्किएपछि अवरुद्ध भयो। ६ दिनसम्म उक्त जलमार्ग अवरुद्ध हुँदा ६ देखि १० अर्ब अमेरिकी डलर बराबरको व्यापार रोकिएको समाचार संस्था रोयटर्सले जनाएको थियो। त्यति बेला यो नहरमा कम्तीमा ३६९ वटा पानीजहाज अड्किएका थिए। स्वेज नहरबाट सन् २०२० मा मात्रै १९ हजार पानीजहाज ओहोरदोहोर गरेका थिए।
‘एभर गिभन’ नामक जहाज त्यहाँ अड्किएको थियो। करिब ४०० मिटर लामो तथा ५९ मिटर चौडाइ भएको मालवाहक पानीजहाज तेर्सो परेर अड्किएपछि एसिया र युरोप जोड्ने जलमार्ग ठप्प भएको थियो । पछि यसको पछाडिको भागलाई नहरको किनारातिर तानिएको थियो। त्यसका लागि १४ वटा डुंगाहरू प्रयोग गरिएको थियो । अचानक आएको हावाहुरीका कारण विशाल पानीजहाज नहरमा तेर्सिएको थियो। दस वर्ष लगाएर सन् १९६९ मा निर्माण सम्पन्न भएको नहर १९३.३ किलोमिटर लामो छ । एसिया र युरोपबीचको सबैभन्दा छोटो जलमार्गबाट विश्वको १२ प्रतिशत व्यापार हुने गर्छ।
८. अफगानिस्तानमा फर्किए तालिबान
अमेरिकी नेतृत्वको फौजले काबुलबाट बाहिर धपाएको २० वर्षपछि तालिबान फेरि अफगानिस्तानको सत्तामा फर्कियो। तालिबानहरू १५ अगस्टमा काबुलको राष्ट्रपति भवन प्रवेश गरेका थिए। त्यहाँका राष्ट्रपति असरफ गनीले सुटुक्क देश छाडेर भागेपछि तालिबानहरू राष्ट्रपति भवनमा बन्दुकसहित घुसेका थिए। तालिबानले सत्ता हातमा लिएपछि काबुलमा सर्वसाधारण निकै त्रसित भए। अफगानिस्तान छाड्नेको भिडले काबुल विमानस्थल अस्तव्यस्त बनेको थियो। काबुललाई तालिबानले नियन्त्रणमा लिएपछि पनि आफ्ना कर्मचारी र कुटनीतिज्ञलाई फिर्ता लैजान अमेरिकी सेनाले काबुल विमानस्थल छाडेको थिएन।
९.अमेरिकी संसद भवन ‘क्यापिटोल बिल्डिङ’मा ट्रम्प समर्थकको हमला
अमेरिकाको संसद भवन ‘क्यापिटोल विल्डिङ’मा यो वर्षको सुरुवातमै अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हमला गरेका थिए। राष्ट्रपति निर्वाचनमा पराजय बेहोरेका ट्रम्पका समर्थकको भिडले क्यापिटोल बिल्डिङमा अचानक हमला गर्दा संसदको संयुक्त बैठक नै अवरुद्ध भएको थियो। संसद भवनमा अमेरिकाका राष्ट्रपति जो बाइडेनको जितलाई औपचारिकता दिने काम भइरहेको थियो। हमलापछि संसद भवनलाई तत्कालै बन्द गरेर सांसदहरुलाई सुरक्षित स्थानमा राखिएको थियो। भिडले सुरक्षा अधिकारीमाथि हमला गर्नेदेखि क्यापिटोलको सार्वजनिक सम्पत्तिमा पनि क्षति गरेका थिए। उनीहरुले हमलापछि केही घण्टालाई क्यापिटोल बिल्डिङ नै आफ्नो कब्जामा लिएका थिए।
१०. कोभिड भ्याक्सिनको सर्वसुलभता
सन् २०२१ मा कोभिडविरुद्धको खोप सबै देशमा पुग्यो। यसको सर्वसुलभताले महामारी नियन्त्रण गर्न सघाउ पुर्यायो। तर, यो वर्ष नै नयाँ भेरियन्टका कारण चिन्ता पनि थपियो। सन् २०२१ मा नै डेल्टा भेरियन्टका कारण विश्वभरि नै कोरोना महामारीको दोस्रो लहर चल्यो। वर्षको अन्त्यमा दक्षिण अफ्रिकाबाट सुरु भएको भनिएको ओमिक्रोन भेरियन्टले त्रास थप्यो। तर, यो भेरियन्ट धेरै घातक नभएको चर्चासँगै त्रास कम भएको छ। यद्यपि, भारत, बेलायतलगायत देशमा यात्रा प्रतिबन्धमा कडाइ गरिएको छ। नयाँ दिल्लीमा रात्रिकालीन कर्फ्यु सुरु गरिएको छ।