images
images

दक्षिण कोरियाबाट आएको ४ वटा उन्नत जातको बाच्छी गाई आनुवांशिक श्रोत केन्द्र जिरीमा

  • १६ पुष २०७९, शनिबार १०:४९

जिरी (दोलखा)। दक्षिण कोरियाबाट नेपाल ल्याएको ४२ वटा बाच्छी गाईमध्ये ४ वटा गाई दोलखास्थित गाई आनुवांशिक श्रोत केन्द्र जिरी आइपुगेको छ ।

दक्षिण कोरियाले नेपाललाई सहयोग स्वरुप दिएको गाईको उन्नत जातको कोरली बाच्छीमध्य ४ वटा बाच्छी दोलखाको जिरी नगरपालिकास्थित गाई आनुवांशिक श्रोत केन्द्रमा ल्याइएको हो । यहि पौष ७ गते दक्षिण कोरियाबाट ल्याएको बाच्छी कृषि अनुसन्धान परिषद खुमटार राखिएको थियो । ती बाच्छीहरुमध्ये ४ वटा हिजो बेलुकी करिब ८ बजे जिरी आइपुगेको गाई आनुवांशिक स्रोत केन्द्र जिरीका फार्म प्रबन्धक डा. गोपाल गिरिले जानकारी दिनुभयो ।

दक्षिण कोरियाले पठाएको गाई होल्स्टिन फ्रिजियन जातको गाई हो । बजार मूल्यअनुसार एक बाच्छीको करिब ३ लाख ९६ हजार (३ हजार अमेरिकी डलर) रुपैयाँ पर्छ । पौष ७ गते गणतन्त्र कोरियाको कृषि खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा कोरली बाच्छी र साँढे काठमाडौँ ल्याइएको थियो । नङह्युप राष्ट्रिय कृषि सहकारी महासंघ र सियोल दुग्ध सहकारी कोरियाको साझेदारीमा हेफर कोरियामार्फत यी उच्च गुणस्तरका कोरली बाछाबाच्छी खरिद गरिएको हो । हेफर इन्टरनेशल नेपाल प्रोजेक्टले बाच्छाबाच्छी खरिदको सम्पुर्ण खर्च व्यहोरेको छ । दक्षिण कोरियाले नेपाललाई आनुवंशिक रूपमा सुधारिएको गाईवस्तु तथा दुग्ध प्रविधिमा सहयोग गर्ने प्रतिबद्धताअनुसार बाच्छी र साँढे कृषक र देशको पशुपालन कार्यालयमा उपलब्ध गराउँदा जिरी गाई आनुवांशिक श्रोत कन्द्रलाई पनि चार वटा आएको हो ।

हाल जिरी गाई आनुवांशिक श्रोत केन्द्रमा १ सय १५ वटा गाई छन् । तीमध्य ५७ वटा माउ गाई, दुहुना ४० वटा र अन्य बाच्छा बाच्छी रहेका छन् । चिसो मौसमका कारण हाल दुध उत्पादनमा भने कमी आएको गाई आनुवाशिंक स्रोत केन्द्रले जिरीले जनाएको छ । कोरियाबाट ल्याएको गाईले माउ बनेपछि दैनिक २० देखि ४० लिटरसम्म दुध दिनेछ । कोरियाबाट आएका यी कोरली बाच्छीहरूले दीर्घकालीन दुग्ध विकासको दृष्टिले राष्ट्रिय आर्थिक समृद्धिका लागि योगदान पुग्नेछ ।