images
images

जिरी नगरपालिकामा वृद्धवृद्धालाई न्यानो सिरक वितरण

  • १५ पुष २०८०, आईतवार १९:१५

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा ज्येष्ठ नागरिकलाई सिरक वितरण गरिएको छ ।

जिरी नगरपालिकासँगको समन्वयमा असल मित्र नेपाल नामक संस्थाले वडा नम्बर १, २, ८ र ९ का ५ सय ४८ जना ज्येष्ठ नागरिकलाई न्यानो फाइबर सिरक वितरण गरेको हो । गत विहिबार वडा नम्बर ८ र ९ मा ३ सय ४२ जना ज्येष्ठ नागरिकहरुलाई कम्बल/सिरक वितरण गरिएको थियो भने आज वडा नम्बर १ र २ मा २ सय ६ जना वृद्धवृद्धालाई सिरक वितरण गरिएको छ । जसमा वडा नम्बर १ का ७८ जना र वडा नम्बर २ का १ सय २४ जना वृद्धवृद्धाले सिरक पाएका छन् ।

जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल र असल मित्र नेपालका अध्यक्ष ज्ञान बहादुर सुनुवार लगायतका टोलीले सिरक वितरण कार्यक्रमको आयोजना गरी ज्येष्ठ नागरिकलाई सिरक वितरण गरेको हो । सम्बन्धित वडामा वडाका अध्यक्षहरु वडा नम्बर १ मा आङपासाङ शेर्पा, वडा नम्बर २ मा ङिमापल्दे शेर्पा, वडा नम्बर ८ मा अध्यक्ष कृष्ण कुमार खत्री र वडा नम्बर ९ का अध्यक्ष ज्ञानु पाख्रिन पनि आफ्नो वडामा सिरक वितरण कार्यक्रममा खटिएका थिए ।

जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलले जाडो मौसममा वृद्धवृद्धाहरुलाई न्यानो बनाउन नगरपालिका र वडाको समेत समन्वयमा असल मित्र नेपालसँग सहकार्य गरी सिरक वितरण गरिएको बताउनुभयो । उहाँले चिसोमा वृद्धवृद्धाको सुरक्षाको लागि वितरण गरिएको सिरकलाई कोशेली स्वरुप स्वीकार गर्न पनि आग्रह गर्नुभयो ।

सिरक वितरण कार्यक्रममा असल मित्र नेपालका अध्यक्ष एवम् जिरी–९ का पूर्वअध्यक्ष ज्ञान बहादुर सुनुवारले जाडो याममा मायाको चिनो स्वरुप जिरी नगरपालिकाका ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको महत्वबारे जनचेतना फैलाउन यस्तो कार्यक्रमको आयोजना गरिएको पनि बताउनुभयो । असल मित्र नेपालको २५ लाख रुपैँया सहयोगमा जिरीको ९ वटै वडाका ज्येष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्ने कार्यक्रम रहेको छ ।

बाँकी वडाहरुमा पनि वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ । सिरक वितरण कार्यक्रम मंगलबारसम्म जारी रहनेछ । गत वर्ष पनि नगरपालिकाका ९ वटै वडामा असल मित्र नेपालले ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरेको थियो ।

हेर्नुहोस, फोटोफिचरमा