images
images

हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने नागरिक उड्डयन प्राधिकरणको चेतावनी

  • १६ पुष २०८१, मंगलवार १८:५३

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरुले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने चेतावनी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ईन्जिनियर प्रदीप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरुले हेलिकोप्टर उडानमा रोक लगाए कारवाही गर्ने चेतावनी दिनुभएको हो । सगरमाथा राष्ट्रिय निकुञ्जले गत मंसिरमा निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यवसायिक हेलिकोप्टर उडानमा रोक लगाएको थियो ।

सोही विषयप्रति लक्षित गर्दै महानिर्देशक अधिकारीले हवाई उडानको अनुमति दिने वा नदिने विषय नागरिक उड्डयन प्राधिकरणले मात्रै दिनसक्ने बताउनुभएको हो । नियम विपरित र कार्य क्षेत्र विपरित काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम कारबाही गरिने प्राधिकरणको चेतावनी छ ।

२० विमानस्थल बन्द

प्राधिकरणले मुलुकभर ५२ आन्तरिक विमानस्थल रहेकोमा २० विमानस्थल बन्द रहेको जनाएको छ । दोलखाको जिरी सहित २० विमानस्थल वन्द रहेका हुन् । सञ्चालनमा रहेका पनि धेरैजसो साना आन्तरिक विमानस्थलमा नियमित उडान भएको छैन । कतै जहाज अभाव र कतै यात्रु अभावका कारण विमानस्थल चल्न नसकेको प्राधिकरणले जनाएको छ ।