images
images

लाखौँ चोरी भएको पवटीको सूर्योदय सहकारीका व्यवस्थापक र पूर्ब कोषाध्यक्ष रिहा

  • १८ माघ २०८०, बिहीबार ११:५६

दोलखा । दोलखाको पवटी स्थित सूर्योदय बचत तथा ऋण सहकारी संस्थामा भएको चोरीको घटनामा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएका व्यवस्थापक र कोषाध्यक्ष रिहा भएका छन् ।

दोलखा प्रहरीले सहकारीका व्यवस्थापक महेन्द्र भुजेल र पूर्ब कोषाध्यक्ष कपिलमणि न्यौपानेलाई हिजो बेलुकी रिहा गरेको हो । व्यवस्थापक भुजेल र पूर्ब कोषाध्यक्ष न्यौपानेलाई सूर्योदय सहकारीका सञ्चालकहरुले प्रहरीबाट बुझेर लगेका छन् । उनीहरु दुबैलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ सहित अनुसन्धान गरेको थियो । सहकारीको सेफ (भल्ट) मा राखिएको ३२ लाख ८७ हजार रुपैयाँ सेफको साँचो खोलेर चोरी भएपछि प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

सूर्योदय सहकारीको चोरीको घटनामा प्रहरीले हालसम्म चोरको पहिचान गर्न सकेको छैन । सुरक्षा गार्ड समेत नभएको सहकारीको कार्यालयमा ३२ लाख भन्दा बढी नगद राख्नु र व्यवस्थापकले कार्यालयमै सेफको साँचो छोड्नुले घटना शंकास्पद बनेको छ ।