
काठमाडौं । सरकारले छुट जग्गा दर्ताकालागि दुई वर्षभित्र आवेदन दिने गरी खुलाउने भएको छ । गत सोमवारको मन्त्रीपरिषदको वैठकले यसअघि भोगचलन गरिरहेका तर दर्ता हुन नसकेका जग्गाको दर्ताकालागि सूचना प्रकाशित गर्न स्विकृती दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवँ सूचना प्रविधिमन्त्री रेखा शर्माले नाप नक्सा भएको तर जग्गा दर्ता गर्न छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न चाहने सम्वन्धित जग्गाधनीले सम्वन्धित मालपोत कार्यालयले सूचना प्रकाशित भएको मितिले दुई वर्ष निवेदन दिन सक्ने बताउनुभयो । मालपोत नियमावली २०३६ ले नियममा नाप नक्शा भएको तर दर्ता गर्न मात्रै छुट भएको जग्गा दर्ता गर्न पाउने व्यवस्था गरेको छ । मन्त्रिपरिषद वैठकले त्यसकालागि राजपत्रमा सूचना निकाली म्याद तोक्ने निर्णय गरेको हो । यो निर्णय लगत्तै भुमि मन्त्रालयले छुट जग्गा दर्ताकालागि राजपत्रमा सूचना जारी गर्नेछ ।
२०२२ सालअघि आफ्नो हकभोग रहेको र जोताहाको निस्सा भएका जग्गाधनीहरुले मात्रै जग्गा दर्ता छुट भएको औचित्य पुष्टि गरी निवेदन दिन सक्ने छन् । करिव एक दशकपछि छुट जग्गा दर्ता खुला गर्न लागिएको हो । यसअघि २०६६ सालदेखि २०७१ सालसम्म जग्गा दर्ता खुला गरिएको थियो ।