images
images

जीवितै श्रीमानलाई मृत्यु भएको भनी भत्ता बुझ्ने रामेछापकी महिला सहित वडासचिव दोषी ठहर

  • १ फाल्गुन २०८०, मंगलवार १९:१०

काठमाडौं । जीवतै श्रीमानको मृत्यु भएको भनी भत्ता बुझ्ने रामेछापकी महिला र मृत्युदर्ता गरिदिने वडासचिवलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

न्यायाधीशहरु टेक नारायण कुँवर, तेजा नारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आज रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडाध्यक्ष शिवकुमार महतो र भत्ता लिने निर्मला खत्रीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । अदालतले तत्कालीन वडासचिव महतो र भत्ता लिने खत्रीलाई जनही ३ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यालय सहयोगी पदमा कार्यरत रहेका निर्मलाका पति रामबाबु खत्री जीवित हुँदाहुँदै निर्मलाले श्रीमानको मृत्यु भएको वडा कार्यालयबाट एकल महिला भत्ता बुझ्दै आएकी थिइन् । निर्मलाले गत वर्षको माघ महिनासम्म गरी १५ महिनाको मासिक २ हजार ६ सय ६० रुपैयाँका दरले ३९ हजार ९ रुपैयाँ भत्ता बुझेकी थिइन् ।

निर्मलाको नाममा २०७८ साल भदौ २१ गते एक महिला परिचयपत्र बनेको पाइएको थियो । तर, एकल महिलाको भत्ता बुझ्न जाँदा निर्मला सिन्दूर पोतेसहित बैंकमा पुगेपछि शंका लागेर सोधपुछ गर्दा निर्मलाको श्रीमान जीवितै भएको खुलासा भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रीमान जीवित हुँदाहुँदै मृत्यु भएको भनी कागजात बनाइ भत्ता लिएको पाइएपछि गत मंसिर ८ गते महतो र खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । सोही मुद्दामा आज विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।