images
images

न्यौपानेको शव परिवारजनले बुझे, एमाले पार्टी कार्यालयमा गरियो श्रद्धाञ्जली

  • ६ फाल्गुन २०८०, आईतवार १५:११

दोलखा । सूर्योदय सहकारी चोरीको घटनालाई गम्भीर ढँगले छानविन गर्ने र पूर्व कोषाध्यक्ष कपिलमणि न्यौपानेको आत्महत्याको घटनाको पनि छानविन गर्ने सहमति पछि मृतकका परिवारले शव बुझेका छन् ।

जिल्ला प्रशासन कार्यालय दोलखामा भएको छलफलमा सहमति जुटेपछि परिवारजनले मृतकको शव पोस्टमार्टम पछि बुझेका हुन् । स्थानीय प्रशासनमा भएको छलफलमा सहकारी चोरीको घटनाको प्रहरीको केन्द्रीय अनुषन्धान व्युरो (सिआइवी) मार्फत अनुषन्धान गर्ने, आत्महत्याको घटनाको पनि छानविन र अनुषन्धान गर्ने सहमति भएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । उहाँले सहकारी चोरीको घटनाको छानविन प्रभावित नहुने भन्दै गम्भीर ढँगले अनुषन्धान गरी यथासक्य चाँडो दोषीलाई कानुनी कठघरामा ल्याउने बताउनुभयो ।

मृतक न्यौपानेको शव परिवारजनले बुझे लगत्तै एमाले जिल्ला पार्टी कार्यालय चरिकोट परिसरमा ल्याइएको थियो । उनको शवलाई नेकपा एमाले जिल्ला पार्टी कार्यालय परिसरमा एमाले नेता तथा कार्यकर्ताहरुले श्रद्धाञ्जली दिएका थिए । यसअघि प्रहरीको यातना र दवावका कारण एमाले जिल्ला कमिटी सदस्य समेत रहेका न्यौपानेले आत्महत्या गरेको भन्दै स्थानीय प्रहरी/प्रशासन बिरुद्ध बिरोध प्रदर्शन भएको थियो । मृतकका परिवार, आफन्तजन र एमाले कार्यकर्ता समेतले हिजो जिल्ला प्रहरी कार्यालय अघि प्रदर्शन गरेका थिए ।

गत माघ १५ गते पवटीको रमाइलो चोकमा रहेको सूर्योदय सहकारीको भल्टवाट ३२ लाख ८५ हजार रुपैयाँ चोरी भएको थियो । चोरीको घटनामा प्रहरीले निगरानीमा राखेका संस्थाका पूर्व कोषाध्यक्ष न्यौपानेले सनिवार आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।