images
images

६१ किलो सुन प्रकरणः दोलखाका दुई सहित १२ जना थुनामै रहने, ६ प्रतिवादी रिहा हुँदै

  • ११ माघ २०८०, बिहीबार ०९:२०

काठमाडौं । उच्च अदालत पाटनले ६१ किलो सुन प्रकरणमा दोलखाका दुई सहित १२ जनालाई थुनामै राख्न आदेश दिएको छ ।

राजश्व अनुसन्धान विभागले बरामद गरेको ६१ किलो ७ सय ७८ ग्राम सुन प्रकरणका ६ जना प्रतिवादीलाई धरौटीमा रिहा आदेश दिँदै १२ जनालाई थुनामै राख्न भनेको हो । १२ प्रतिवादीलाई उच्च अदालतले पनि थुनामा पठाउने आदेश सदर गरेको हो । यो आदेशसँगै दोलखाको मेलुङ गाउँपालिकाका दिलिप भुजेल र रामकुमार भुजेल सहित दावा छिरिङ, थुप्तिन छिरिङ, राजेन्द्रकुमार राई, सुमन खरेल, शिवकुमार सर्राफ, किशोर बस्नेत, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ र हर्कराज राई थुनामा नै रहनेछन् ।

हिजो न्यायाधीश धीरबहादुर चन्द र कृष्णराम कोइरालाको इजलासले १२ जनाको हकमा जिल्लाको आदेश सदर गर्दै ६ जनाको हकमा जिल्लाको आदेश बदर गरेको हो । उच्चले कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टलाई जनही एकलाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । यादव पराजुली र सुदर्शन गौतमसँग समान २ लाखका दरले, गणेशप्रसाद पौडेल र विरेन्द्र नेपालीसँग पाँच पाँच लाख रुपैयाँ धरौटी माग गरिएको छ । अब उनीहरुले उच्च अदालतले माग गरेको धरौटी जिल्ला अदालतमा बुझाएमा रिहा हुन पाउने छन् ।