images
images

काभ्रेपलाञ्चोकबाट विदेशीलाई नागरिकता बिक्री गरेको अभियोगमा दुई अधिकृत थुनामा

काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।

जिल्ला अदालत धुलिखेलमा भएको थुनछेक बहसमा न्यायाधीश शिवकुमार पोखरेलेको इजलासले अधिकृतद्धय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई थुनामा पठाउन आदेश दिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा अधिकृतद्धय खरेल र अर्याल अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ । खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अधिकृत थिए भने अर्याल सुब्बा रहेका थिए ।

दुवै अधिकृतमाथि स्वेदशी र विदेशीलाई नागरिकता बिक्री गरेको अभियोग छ । प्रहरीले विदेशी नागरिक दावा छिरिङ भनिने निमा तामाङ भएको झुटो विवरण पेस गरी विं.सं २०७४ साल पुस २० गते नागरिकता दिलाएको सहित ९ जनालाई नागरिकता बिक्री गरेको खुलासा भएको छ । छिरिङ सुन तस्करीमा संलग्न रहेपछि उनलाई केन्द्रीय कारागारमा राखिएको छ । अधिकृत खरेललाई चैत ३ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिबाट र अर्याललाई गत फागुन २४ गते बागमती प्रदेशसभा सचिवालयबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई आज जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

यस्तै, काठमाडौं महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई पनि जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । राजुका बुबा हरिभक्त गुरुङलाई पनि जिल्ला अदालतले पक्राउ पुर्जीको आदेश दिएको छ । यसअघि गुरुङका बाबुछोरा हङकङ बस्दै आएका थिए । राजुले अमेरिका जाने प्रयोजनका लागि काठमाडौंबाट लिएको सक्कली नागरिकताका साथै काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी खरिद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकता फाँटमा अनुसूची मिलाउने र भर्ने सुब्बा रामचन्द्र अर्याल रहेका थिए ।