images
images

श्रीमान श्रीमतीको मतभेदले पार्टीमा सुरु भयो लडाई, रञ्जिता पक्षका दुई नेताले खाए कुटाई

  • १९ चैत्र २०८०, सोमबार १५:४५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीमा संस्थापक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठ समूहबीचको विवादले कुटाकुटको अवस्था सिर्जना भएको छ ।

खासगरी नयाँ गठबन्धनलाई लिएर चर्किएको विवादले आज उग्र रुप लिएपछि कुटाकुटको अवस्था सिर्जना भएको हो । आज काठमाडौंको अनामनगरमा बसेको केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेताहरूमाथि कुटपिट भएको छ । सुदूरपश्चिममा नेपाली कांग्रेसको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा रहेका रेशम र मुख्यमन्त्री लिएर नयाँ गठबन्धनबाट अघि बढ्नुपर्ने पक्षमा रहेको रञ्जिता पक्षबीचको विवादले बैठकमा कुटाकुटको अवस्था ल्याएको हो । बैठकका क्रममा कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु र अर्का नेता रमेश विकमाथि हातपात भएको छ । कुटपिट गरिएका दुवैजना रञ्जिता पक्षधर नेताहरू हुन् । अध्यक्ष रञ्जिता र संस्थापक रेशमबीचको विवादले पार्टी फुटको संघारमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालय अनामनगरमा कुटाकुट हुनुअघि दुई पक्षबीच सुदूरपश्चिम सरकारमा सहभागी हुने र नहुने विषयमा चर्को विवाद भएको थियो ।

रञ्जिता पक्ष संघीय सरकारमा सहभागी हुँदै सुदूरपश्चिमको मुख्यमन्त्री लिने गरी नयाँ गठबन्धनमा मिसिने पक्षमा उभिएको छ भने रेशमलाल संघमा प्रतिपक्षमा बस्दै सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारलाई नै निरन्तरता दिने पक्षमा रहेका छन् ।