images
images

नाम अनुसारको काम गरेपछि डिएसपी ठगबहादुर गए दुई वर्षको लागि जेल

  • २१ चैत्र २०८०, बुधबार ०९:३२

काठमाडौं । नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । बर्खास्तीमा परेका केसीविरुद्धको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह र रितेन्द्र थापाको इजलासले दोषी ठहर गरी दुई वर्षको जेल सजाय र ८ लाख ५० हजार रुपैयाँ जरिवा हुने फैसला सुनाएको हो । उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ङ) को कसूर गरेको विशेष अदालतले ठहर गरेको छ । अदालतले उक्त ऐनको दफा ३ को उपदफा (१) बमोजिम ठगबहादुरलाई २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रमुख केसीले नजिकैको हाटबजारबाट व्यवसायीको सुन ल्याएर फिर्ता गर्न १८ लाख रुपैयाँ घुस मागेका थिए । केसीले ३४ तोलाभन्दा बढी सुन लिएर १५ दिनसम्म कार्यालय तथा जिम्मेवार कर्मचारी कसैलाई जानकारी नदिएको पाइएको थियो । यस विषयमा प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि अनुसन्धान भएको थियो । खानतलासीका क्रममा केसीको घरबाट ३४ तोलाभन्दा बढी सुन पनि बरामद भएको थियो ।

यस्तै उनलाई घुस उपलब्ध गराउने खेम भनिने खिलेन्द्र जिसी पनि दोषी ठहर भएका छन् । घुस लिने र दिनेमाथि दायर छुट्टाछुट्टै मुद्दामा विशेष अदालतले हिजो फैसला सुनाएको हो । डीएसपी केसीलाई दुईं वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुँदा केसीलाई घुस दिने व्यवसायी जिसीलाई एक वर्ष ६ महिना कैद र नौ लाख ५० हजार रुपैयाँ जरिवाना हुने भएको छ ।

केसीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले केसीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।