images
images

तीन वर्ष कैद र चार करोड जरिवाना तोकिएकी बनेपाकी एक महिला पक्राउ

  • २१ माघ २०८०, आईतवार १६:५५

काठमाडौं । बैंकिङ कसुरमा अदालतले तीन वर्ष कैद र चार करोड जरिवाना तोकिएकी काभ्रेपलाञ्चोकको बनेपाकी एक महिला पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ की ४५ वर्षीया मन्दिरा के.सी.(कार्की)लाई पक्राउ गरेको हो । उनलाई बैंकिङ कसुरको मुद्दामा साबिक पुनरावेदन अदालत पाटनले २०७१ सालमा तीन वर्ष कैद सजाय र चार करोड जरिवानाको फैसला गरेको थियो ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरुलाई प्रभावमा पारी प्रतिवादी मन्दिरा सञ्चालक रहेको घराना डेभलपर्स प्रालिलाई उनले ऋणी बनाएकी थिइन् । सोही प्रालिका नाममा दर्ता भएको भक्तपुर साविक चाँगुनारायण गाविस–७ र ९ स्थित जग्गाहरु धितो राखी प्राप्त गरेको कर्जा तोकिएको परियोजनामा लगानी नगरी दुरुपयोग गरेको उनीमाथि आरोप छ ।

बैंकिङ कसुर मुद्धामा दोषी ठहर भई उनी फरार भएकी थिइन् । फरार रहेकी उनलाई ब्यूरोबाट खटिएको प्रहरीले हिजो बनेपाबाट पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालतमा पेश गरिएको काभ्रेपलाञ्चोक प्रहरीले जनाएको छ ।