images
images

सर्लाहीको झडपमा मृत्यु हुने ३० वर्षीय युवक, ६ प्रहरीसहित ७ घाइते

  • २० पुष २०८०, शुक्रबार १७:२२

सर्लाही । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर शाहको मृत्यु भएको छ ।

उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् । तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले उनको मृत्युको यकिन कारण खुल्न सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाका अनुसार झडपको क्रममा ६ जना प्रहरी र दुईजना स्थानीय घाइते भएका छन् ।

प्रदर्शनलाई नियन्त्रणमा लिन शुक्रबार दिउँसो प्रहरीले १९ सेल अश्रुग्यास र १३ राउन्ड हवाइ फाइर गरेको छ। प्रादेशिक अस्पताल राख्ने विषयमा सुरु भएको विवादले उग्र रुप लिएपछि अश्रु ग्यास र हवाइ फायर गरिएको थियो। स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बरहथवा नगरपालिकाको निर्णयविरुद्ध स्थानीयले सडकमा आगो बाल्दै प्रदर्शन गरेका थिए। अस्पताललाई लिएर स्थानीयबासीले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न खोजेका थिए। त्यसपछि हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ। स्थानीयले मेयरको घरमा राखिएको गाडीमा आगजनी गरेका छन्।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालविरुद्ध आन्दोलनरत समूह तोडफोड र आगजनीमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको हो । आन्दोलनकारीले नगरप्रमुखको घरमा तोडफोड र एउटा चारपाङ्ग्रे गाडी जलाएका छन् । अहिले त्यहांको अबस्था तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।