images
images

२१ बर्षदेखि सम्पर्क विहिन चित्रवहादुर घर खोज्दै मैनापोखरी पुगेपछि…

४१ वर्षीय चित्रबहादुर थापा दोलखाको बैतेश्वर गाउँपालिका ६ ब्याडेका हुन् । गरिवीका कारण उनले पढ्न पाएनन् । परिवारमा आइपरेको अभाव र समस्याले उनले बाल्य अवस्थामै घर छाडे । सानै उमेरको हुँदा बुबा गुमाएका घरका ठूलोकान्छा छोरा चित्रवहादुर छिमेकी दाजुभाईसँग परदेशिए । उनी रोजगारीको लागि भारतको गान्तोक गएका थिए । १२ वर्षको उमेरमा घर छाडेका उनी एक पटक घर आएका थिए । त्यसपछि २०५८ सालबाट सम्पर्क विहिन भए । गान्तोकमा काम गर्दागर्दै रोजगारीको सिलसिलामा चित्रबहादुर भारतको दिल्ली पुगेका थिए । त्यसपछि घरपरिवारलाई कुनै खबर आएन । उनी जिउँदो छन् की छैनन् भने खबर समेत आफन्तले पाउन सकेनन् ।

३ कक्षासम्म पढेका उनी बाबुको मृत्यु भएसँगै आमाले शिक्षादिक्षा दिन नसकिने अवस्था आएपछि घरबाट रोजगारीको लागि बाहिरिएका थिए । धनकमाउने आशले सिक्किम, गान्तोक हुँदै दिल्ली पुगेका चित्रकोे गाउँका साथिहरुसँगको सम्पर्क परदेशमै टुट्यो र उनीआफन्तबाट सम्पर्क विहिन बन्न पुगे । रोजगारीको लागि घर छाडेको २९ वर्ष भए पनि उनी २०५८ सालदेखि आफन्तको सम्पर्क बाहिर थिए । तर, सम्पर्क विहिन भएको २१ वर्षपछि चित्रवहादुर घर खोज्दै बैतेश्वर आइपुगेका छन् ।

कसरी आइपुगे उनी घरसम्म?

१२ वर्ष उमेरको हुँदादेखि बाहिर बसेका चित्रलाई आफ्नो ठाउँ पहिचान गरेर आउनै मुस्किल प¥र्याे । उनलाई आफ्नो देश नेपाल, घरगाउँको नाममा मैनापोखरी र नाम्दु भन्ने मात्रै थाहा रहेछ । घर र आफन्तको खोजीमा रहेका उनी यति लामो समयपछि दिल्लीबाट सिक्कीम हुँदै नेपालको सिमानामा आइपुगेछन् । त्यतिकैमा नेपाल प्रवेश गरेपछि उनले सोध्दै खोज्दै नेपाल प्रवेश गरेर राजधानी पुगी मैनापोखरीको बस समाएर गाउँ आएछन् । उनले मैनापोखरी भन्दा तल्लो क्षेत्रमा झरेर आफ्ना स्वर्गीय बुबा रामबहादुर थापाको नाम लिँदै आफन्तको खोजी गरे । त्यसपछि गाउँले छिमेकीले घरपरिवारलाई खबर गरेका थिए। तपाईको घरको हराएको सदस्य भेटियो । सम्पर्कमा आए । लिन आउनुस् । त्यो खबर प्राप्त भएपछि परिवारको मरिसकेको आशा फेरी पलाएर खुसी र हर्षमा परिणत भयो ।

हाम्रो अपडेटसँग भाई झपडबहादुर भन्छन् ‘‘हामीले आश मारिसकेका थियौं । छोरो गुमाउँदाको पिडासँगै आमालाई कहीँकतै छोरो एक दिनफर्केर आउँनेछ भन्ने आशा पनि थियो । धेरै निराशाका बीच थोरै आशा थियो । यति लामो वर्षपछि हामीलाई खोज्दै आउनुभएछ । हामी त सरप्राइज भयौं । खुसीले खै के के भयो, भयो, कसरी भन्नु म तपाईलाई ? अहिले मेरो ८५ वर्षीया आमा धेरै खुसी हुनुहुन्छ, हाम्रो सम्पूर्ण परिवार धेरै खुसी भएका छौं । खोज्दै–खोज्दै भएपनि हाम्रो साथमा दाई आइपुग्नुभयो । कान्छो चाहि म हुँ, हराएर आउनुभएको दाई म भन्दामाथिको ठूलोकान्छा हुनुहुन्छ ।

मेरो आमा पवित्रा थापाको ८ सन्तान हो । ठूलाकान्छा हराउनुभयो, अन्य ३ दाईहरु पनि यो संसारमा हुनुहुन्न, वित्नुभयो । आमाको ६ भाई छोरामा एक जना दाई र म मात्रै थिए । अहिले ठूलोकान्छा दाई आउनुभयो । हामी तीन भाई भयौं । दुई जना दिदिबहिनीमा एक जना हुनुहुन्छ, एक जना वित्नुभयो । हामी ८ जनामा अहिले ४ जना मात्रै छौं ।

परिवारमा फर्कियो खुशी

साच्चिकै अहिले बैतेश्वर गाउँपालिकास्थित पवित्रा माया थापाको घरमा पिडाका बाबजुद २३ वर्षपछि खुसी फर्किएको छ । लामो समय नेपाल बाहिर रहेका चित्रलाई नेपाली भाषा बोल्न आउँदैन । उनी पनि आफ्नो परिवारलाई भेटेपछि अहिले धेरै खुसी छन् । भन्छन् ‘अब म मेरो घरपरिवारलाई छाडेर काँही पनि जान्न । यतिको समयसम्म दिल्लीमै बसे, अभाव थियो, कमाउनु पनि थियो । विचमा सम्पर्क विच्छेद भएपछि आफन्तबाट टाढा भए । अहिले घरमा आउँ–आउँ लाग्यो । अनि खोज्दै आइपुगे । अब म आमा र दाई–भाईको साथआफ्नै ठाउँमा आफ्नै घरमा बस्छु । उनीहरुले जे काम गर्छन् त्यही गर्छु, उनीहरुले जे खान्छन् त्यही खान्छु । अहिले धेरै खुसी छु परिवारको साथमा आइपुगे । दुखै–दुखमा हुर्केका र संघर्ष गर्दै देश बाहिर रहेका उनी ४१ वर्ष भइसकेका छन् तर, विहे अझै गर्न पाएनन् ।