images
images

बिश्व प्रसिद्ध बौद्ध भिक्षु गुरु शैलुङमा, तीन दिनदेखि ध्यान गर्दै

  • २४ चैत्र २०८०, शनिबार १७:१४

दोलखा । बिश्व प्रसिद्ध बौद्ध भिक्षु गुरु प औक स्याडो सहित करिब ४० जना बौद्ध भिक्षुहरु दोलखाको पर्यटकीयस्थल शैलुङमा आएका छन् ।

बौद्ध धर्मका सर्वोच्च व्यक्तित्व बौद्ध भिक्षु गुरु स्याडो सहित ४० जना बौद्ध भिक्षुहरु शैलुङ गाउँपालिका–७ मा अवस्थित धम्बा दायदा शैलुङ ध्यान केन्द्रमा आएका हुन् । बौद्ध आस्थाका धरोहर ९० बर्ष कटिसकेका विश्व बौद्ध भिक्षु गुरु २२ गते दोलखा आउनुभएको हो । पहिलोपटक नेपाल आउनुभएका विश्वभरिका भिक्षुहरुका प्रमुख भियतनाम निवासी बर्मामा जन्मनुभएका बौद्ध भिक्षु गुरु स्याडोे हेलिकोप्टरमार्फत शैलुङ आउनुभएको हो । चैत्र १९ गते नेपाल आउनुभएका उहाँ काठमाडौँमा केही दिन आराम गरेर सिधै शैलुङ आउनुभएको हो । चैत्र २२ गते शैलुङको थुम्कोमा हेलिकोप्टर ल्याण्ड गरी उहाँले त्यसको अवलोकन पनि गर्नुभएको थियो । केही समय शैलुङको थुम्कोमा रमाउनुभएका विश्व प्रसिद्ध बौद्ध भिक्षु गुरु हाल शैलङको साँगुते स्थित धम्बा दायदा ध्यान केन्द्रमा रहनुभएको छ ।

उहाँले निर्माणाधीन ध्यान केन्द्रको समेत अवलोकन गर्नुभएको शैलुङ गाउँपालिकाका पूर्बअध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । बौद्ध भिक्षु गुरु सहितका भिक्षुहरु ध्यान गर्ने र आफ्ना अनुयायीहरुलाई ध्यान गर्न सिकाउने लगायतका कार्यमा व्यस्त रहेका छन् । स्वास्थ्यले साथ दिएमा उहाँ अझ केही समय शैलुङमा रहने बताईएको छ । विश्व बौद्ध भिक्षु गुरु स्याडोले शैलुङको सो ध्यान केन्द्रमा कुनै अध्यात्मिक शक्ति रहेको बताउनुभएको छ ।

उहाँले बुद्ध जन्मेको देश नेपालमा आउन मन लागेको तर शैलुङको ध्यान केन्द्रमा आउन आफुलाई कुनै अध्यात्मिक शक्तिले तानेको प्रतिक्रिया दिनुभएको छ । आफुलाई सोही अध्यात्मिक शक्तिले गर्दा शैलुङ आउँ आउँ लागेको उहाँले आफ्ना अनुयायीहरुलाई बताउनुभएको छ । भियतनामका नागरिकहरुको लगानीमा निर्माण भैरहेको सो ध्यान केन्द्र ११० रोपनि क्षेत्रफलमा फैलिएको छ । करिब ४ वर्षअघि २०७७ सालमा स्थापना सुरु गरिएको ध्यान केन्द्र निर्माणको करिब अन्तिम चरणमा पुगेको छ । निर्माणकै चरणमा रहेको सो ध्यान केन्द्रमा भियतनामबाट करिब २ सय बढी बौद्ध भिक्षुहरुलले ध्यान गरेर फर्किसकेका छन् ।