images
images

१५ लाख घुस लिने क्रममा रंगेहात पक्राउ परेका वडाअध्यक्षबिरुद्ध मुद्धा दायर

  • २६ माघ २०८०, शुक्रबार १५:५१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ परेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकोे छ ।

आयोगले आज बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । वडा अध्यक्ष बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको अख्तियारको आरोप छ । घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी माघ ३ गते घुससहित पक्राउ परेका थिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसुरमा १५ लाख बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को च बमोजिम कैद सजाय माग गरिएको छ । साथै, सो ऐनको दफा ३ को उपदफा १ अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई अख्तियारले आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।