images
images

शैलुङ हत्याकाण्डका तीन आरोपी दोलखा प्रहरीद्धारा सार्वजनिक

  • २८ माघ २०८०, आईतवार १५:१४

दोलखा । दोलखाको शैलुङमा भएको हत्याकाण्डको आरोपीहरुलाई दोलखा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका—५ काटाकुटीका पुस्कर नेपाली, ईश्वर नेपाली र विशाल नेपालीलाई दोलखा प्रहरीले आज सार्वजनिक गरेको हो । उनीहरुलाई गत पुसमा शैलुङ गाउँपालिकाका वडा नम्बर–४ का १८ वर्षीय युवक भीष्म भण्डारीलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोप छ । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक खड्काले युवकको हत्यामा उनीहरुको संलग्नता रहेको र सो हत्याकाण्ड प्रेम सम्बन्धको कारण भएको बताउनुभयो । प्रहरीका अनुसार गत पुस ११ गते राति युवक भीष्म १७ वर्षीया प्रेमिकाको काटाकुटीस्थित घरमा गएर बसेका थिए । गाउँको मेलामा गएका किशोरीका बुबा पुष्कर र ठुलोबुबा ईश्वर घर फर्किएपछि युवकलाई छोरीसँगै देखेपछि वादविवाद भएको थियो । विवादपछि किशोरीका ठुलोबुबाका छोरा बिशाल नेपाली पनि पुगेका थिए । त्यसलगत्तै उनीहरुले भीष्मलाई स्थानीय वीरबहादुर तामाङको घर नजिकै बाटोमा लगेर खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

दोलखा प्रहरीका अनुसार वादविवादपछि आक्रोशित भएका ईश्वर नेपालीले आफ्नो घरको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर गई भीष्मलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । त्यसपछि उनीहरुले खुकुरीले घाँटी छिनाई मृत्तक शवलाई धारामा पानीले पखाली स्थानीय बजिनी खोल्सामा लगेर फालेका थिए ।