images
images

ललिता निवास जग्गा प्रकरणः १२ जना दोषी ठहर, ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने

  • ३ फाल्गुन २०८०, बिहीबार १८:५३

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा १२ जना दोषी ठहर भएका छन् ।

विशेष अदालका सदस्यहरु डा.खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको हो । जग्गा अनियमितता गरेको आरोपमा तत्कालिन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात, भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त,  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, भूमाफियाहरु शोभाकान्त ढकाल र रामकुमार सुवेदी  पनि दोषी ठहर भएका छन् । दोषी ठहर भएका उनीहरुविरुद्ध जनही दुई वर्ष कैद सजाय ८० लाख ४८ हजार रुपैयाँ जरिवाना  तोकिएको छ ।

विशेष अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर समेत गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरेको थियो । अख्तियारको मागदाबीअनुसार नै सो जग्गा जफत हुने फैसला सुनाइएको हो । विशेष अदालका प्रवक्ता धनबहादुर कार्कीका अनुसार जग्गा जफत भएपनि उनीहरुमाथि अन्य कुनै सजाय र जरिवाना हुने छैन् । यस्तै, तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमीसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीले सफाइ पाएका छन् । पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालिन सचिव दिनेशहरि अधिकारीले पनि सफाइ पाएका छन् ।

चार वर्षअघि दर्ता भएको ललिता निवास जग्गा अनियमितता प्रकरणमा एक महिनादेखि विशेष अदालतमा सुनुवाइ भइरहेको थियो । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले २०७६ साल माघ २२ गते पूर्वउपप्रधानमन्त्री गच्छदार सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये अख्तियारले भ्रष्टाचारको आरोपमा ११० जना विरुद्ध मुद्दा दायर गरेको थियो भने जग्गा किनेका ६५ जनामाथि जग्गा जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाएको थियो ।