images
images

लाखौँ चोरी भएको पवटीस्थित सुर्याेदय सहकारीका पूर्व कोषाध्यक्षले गरे आत्महत्या

  • ५ फाल्गुन २०८०, शनिबार ०७:५९

जिरी(दोलखा) । करिब ३३ लाख चोरी भएको दोलखाको मेलुङ गाउँपालिका–१ पवटीस्थित हाम्रो सुर्याेदय बचत तथा ऋण सहकारी संस्थाका पूर्व कोषाध्यक्ष कपिलमणी न्यौपानेले आत्महत्या गरेका छन् ।

मेलुङ–१ पवटी स्थायी घर भएका न्यौपानेले आज विहान आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै सहकारी चोरीको घटनामा आफुलाई फसाउन खोजिएको बताएका छन् । उनले सहकारी चोरीको घटनामा आफ्नो संलग्नता नरहेको दावी गर्दै कुनै पनि सामाजिक अपराध नगरेको दावी गरेका छन् ।

न्यौपानेले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा सहकारी चोरी घटनामा सञ्चालक र कर्मचारीको मिलेमतो रहेको भन्दै केही व्यक्तिहरुको नाम समेत उल्लेख गरेका छन् । सो चोरीको घटना राम्रोसँग छानविन गर्नुपर्ने उनको भनाई छ । न्यौपानेले सहकारीबाट आफुले लिएको ऋणको विवरण पनि उल्लेख गरेका छन् । गत माघ १५ गते सुर्याेदय सहकारी संस्थाको कार्यालयमा रहेको भल्टबाट ३२ लाख ८५ हजार रुपैंया चोरी भएको थियो । सहकारीको कार्यालय न्यौपानेको घरमा राखिएको थियो । चोरीको घटनापछि प्रहरीले सहकारीका व्यवस्थापक महेन्द्र भुजेल र पूर्व कोषाध्यक्ष न्यौपानेलाई नियन्त्रणमा लिएर सोधपुछ गरी रिहा गरेको थियो ।

यो अवधिमा दोलखा प्रहरीले न्यौपानेलाई पटक–पटक नियन्त्रणमा लिने र सोधपुछ गरी छाड्ने गरिएको थियो । केही दिन अघि जिल्ला प्रहरी कार्यालय झिकाइएका न्यौपाने विहिबार मात्रै घर फर्किएका थिए । त्यसलगत्तै आज विहान लामो स्टाटस लेख्दै न्यौपानेले आत्महत्या गरेका हुन् । उनी पवटीस्थित पुर्खाेली घरमा मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

न्यौपाने हालै सम्पन्न नेकपा एमाले दोलखाको जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका थिए ।