images
images

प्रेम प्रस्ताव अस्वीकार गर्दा ८ दिन बाटो ढुकेर युवतीको हत्या

  • ४ चैत्र २०८०, आईतवार १३:५८

काठमाडौँ । प्रेम प्रस्ताव अस्वीकार गरेका कारण काठमाडौँकी एक युवतीको छिमेकी युवकले हत्या गरेका छन् ।

काठमाडौँको गोकर्णेश्वरका एक युवकले विवाह गर्न नमानेपछि छिमेकमा बस्ने १९ बर्षीया सुस्मा लामाको हत्या गरेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न २१ बर्षिय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो । रुपेन्द्रले सुष्मालाई ८ महिना पहिलेदेखि मन पराउने गरेको र प्रेम प्रस्ताव गर्दा अस्वीकार गर्दा हत्या गरेको खुलासा भएको हो ।

एकतर्फी माया गरेका रुपेन्द्रले पटक पटक प्रेम प्रस्ताव गर्दा पनि सुष्माले अस्वीकार गरेपछि हत्या गरेको प्रहरी समक्ष बताएका छन् । हत्या गर्नुभन्दा ८ दिन पहिलेदेखि उनले बाटोमा ढुकेर बसेको र खाल्डो खन्नका लागि ४ दिनदेखि कोदालो पनि लगेको खुलेको हो । माघ २४ गते घटनाको दिन कलेज जाँदै गर्दा बाटो छेकेर रुपेन्द्रले सुष्मालाई प्रेम प्रस्ताव गरेका थिए । प्रेम प्रस्ताव इन्कार गरेपछि पछाडिबाट घाँटी थिचेर अचेत बनाई पहिलै यकिन गरेको स्थानमा लगेर हात पनि पेटीले बाँधेर रुपेन्द्रले टाइ र जुत्ताको तुनाले कसेर सुष्माको हत्या गरेका थिए । हत्या गरेपछि रुपेन्द्रले कुटोले खाल्डो खनी पुरेका थिए । सुष्माको मोबाइल र पुस्तक भने उनले लिएर गएका थिए । विवाह गरेर भागेजस्तो देखाउन उनले एउटा नव विवाहित दम्पत्तिको तस्बिर एडिट गरी सुष्माको फोटो राखेको र युवकको फोटो छापेको अवस्थामा फेसबुकमा पोस्ट गरेका थिए ।

सुष्माको फेसबुक अकाउन्टमा रुपेन्द्रले आफूले विवाह गरेको र केही दिनपछि आउने लेखेका थिए । तर, त्यसकै भोलिपल्ट गत माघ २६ गते सुष्माका आफन्तले प्रहरीकोमा उजुरी दिएपछि रुपेन्द्रले आफूसँग भएको सुस्माको मोबाइलबाट उनकी दिदीलाई म्यासेज गरेर आफूले विवाह गरेको जान्दाजान्दै किन प्रहरीकोमा गएको भन्दै धम्की दिएका थिए । म्यासेज गरेर रुपेशले मोबाइल बन्द गरेका थिए । तर, घटना भएको एक महिनापछि गत फागुन २४ गते तारेभीरको शिवपुरी राष्ट्रिय निकुन्जको जंगलमा दुई वटा हातमात्रै देखिएको र शरीरको भाग पुरिएको अवस्थामा शव फेला परेको थियो । सो शव सुष्माको भएको पुष्टि भएपछि अनुसन्धानका क्रममा प्रहरीले रुपेन्द्रलाई पक्राउ गरेको हो । कर्तव्य ज्यानको कसुरमा रुपेन्द्रलाई कारबाहीका लागि प्रहरी बृत्त बौद्धमा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।