images
images

रामेछापमा एमालेसँग माओवादीका दुई उम्मेदवारको टक्कर

  • १ मंसिर २०७९, बिहीबार ११:२२

जिरी (दोलखा) । रामेछापमा गठबन्धनको तर्फबाट प्रदेशतर्फ माओवादीका दुई उम्मेदवारहरु चुनावी मैदानमा छन् ।

प्रदेशतर्फ दुई निर्वाचन क्षेत्र रहेको रामेछापबाट क्षेत्र नम्बर १ मा तारानारायण श्रेष्ठ र क्षेत्र २ मा युवराज चौलागाई चुनावी मैदानमा छन् । उनीहरुको नेकपा एमालेका उम्मेदवारहरुसँग मुख्य प्रतिस्पर्धा हुनेछ । क्षेत्र १ मा श्रेष्ठले एमालेका उम्मेदवार शान्तिप्रसाद पौडेलसँग प्रतिस्पर्धा गर्नेछ । संविधानसभा सदस्य समेत रहेका श्रेष्ठलाई गठबन्धनको तर्फबाट माओवादीले अघि सारेको हो । पौडेल बागमती प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य र पूर्व मन्त्री हुन् । गत निर्वाचनमा पौडेलले कांग्रेसका उम्मेदवारलाई पराजित गरेका थिए । तर, यो पटकको निर्वाचनको स्वरुप भने परिवर्तन भएको छ । यो पटक माओवादी उम्मेदवार श्रेष्ठलाई नेपाली कांग्रेसको साथ रहेको छ ।

यसैगरी प्रदेश सभा २ मा १२ जना उम्मेदवार चुनावी मैदानमा भएपनि विशेषगरी गठबन्धन र एमालेबीचनै प्रतिस्पर्धा हुनेछ । त्यहाँ सत्ता गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका युवराज चौलागाई र नेकपा एमालेका मिलन घिसिङबीच प्रतिस्पर्धा हुनेछ । उनीहरु दुवै जना नयाँ अनुहारका उम्मेदवार हुन् । घिसिङ गैरसरकारी संघसंस्था चलाएर राजनीतिमा आएका हुन् भने चौलागाईं माओवादी केन्द्रका सक्रिय नेता एवम् पार्टीको पोलिटब्युरो सदस्य समेत हुन् । उनलाई नेपाली कांग्रेसले साथ दिएको छ ।

प्रतिनिधि सभामा भने रामेछापमा कांग्रेस उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामलाई माओवादीले साथ दिएको छ ।