images
images

दोलखामा आजदेखि बुस्टर डोज खोप दिइने

  • ५ माघ २०७८, बुधबार ०२:३८

जिरी (दोलखा) । दोलखामा आजदेखि अग्रपंतिमा खटिने नागरिकहरुलाई कोभिड १९ विरुद्धको बुस्टर डोज खोप दिइने भएको छ ।

जिल्ला स्वास्थ कार्यालय दोलखाका अनुसार आजदेखि जिल्लाको ९ वटै स्थानीय तहका फ्रन्टलाइनमा खटिने कर्मचारीलाई कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन लागेको हो । जसअनुसार ५, ६ र ७ गते भीमेश्वर गाउँपालिका, कालिञ्चोक गाउँपालिका र तामाकोशी गाउँपालिकाका फ्रन्टलाइनरलाई चरिकोट अस्पतालमा बुस्टर खोप दिइने भएको छ । यस्तै, माघ ६ र ७ गते जिरी नगरपालिका र शैलुङ गाउँपालिका, माघ ८ र ९ गते मेलुङ गाउँपालिका र विगु गाउँपालिका, माघ १० र ११ गते गौरीशंकर गाउँपालिका र बैतेश्वर गाउँपालिकाका फ्रन्टलाइनमा खटिने कर्मचारीलाई बुस्टर खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले सुचना जारी गरी माघ ११ गतेसम्म सञ्चालन हुने बुस्टर डोज खोप अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेविका, सार्वजनिक क्षेत्र (सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघसंस्था, बैंकिङ सेवा) का कर्मचारी, सञ्चारकर्मी लगायतलाई बुस्टर डोज खोप दिइने जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार खोप स्थानीय पालिका अन्र्तगतका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पतालहरुमा लगाइने छ । अग्रपंतिमा खटिने २०७७ साल माघ १० गतेदेखि पहिलो मात्रा लगाई २०७८ साल असार मसान्तभित्र दोस्रो मात्रा समेत लगाइसकेको कर्मचारीहरुलाई पहिलो दोस्रो मात्रा जुन खोप लगाएको हो सोही खोपको तेस्रो बुस्टर डोज खोप दिने स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । खोप लगाउन खोप केन्द्रमा जाँदा दोस्रो मात्रा लगाइसकेको खोप कार्ड अनिवार्य रुपमा लिएर जानुपर्नेछ ।

साथै, ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई तेस्रो मात्रा खोप पहिलो चरणमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई लगाइ सकेर अर्को चरणमा लगाइने बताइएको छ । स्वास्थ्य कार्यालयले खोप केन्द्रमा अनावश्यक भीडभाड गर्दा कोभिड संक्रमण हुन सक्ने भएकाले भीडभाड नगरी पालैपालो खोप लगाउन आग्रह समेत गरेको छ ।