images
images

मदिराको सुरमा बोचमा युवकको हत्या, सिन्धुपाल्चोकका दुई जना प्रहरी हिरासतमा 

  • ७ फाल्गुन २०८०, सोमबार २१:०३
जिरी(दोलखा) । दोलखाको बोचमा एक युवकको ज्यान जाने गरी भएको कुटपिटको घटना मदिरा सेवन गरी मातेको सुरमा भएको देखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुषन्धानका क्रममा मदिरा सेवन गरी मातेको अवस्थामा विवाद भएको र कुटपिट हुँदा गम्भीर घाइते भइ युवकको मृत्यु भएको देखिएको हो । गत माघ २९ गते राती भीमेश्वर नगरपालिका–८ बोचमा कुटपिटवाट गम्भीर घाइते भएका स्थानीय २५ वर्षीय युवक सोनाम तामाङको फागुन १ गते विहान पशुपति
चौंलागाई स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार भीमेश्वर नगरपालिका–८ घर भएका टिपर चालक सुदिप तामाङ, स्थानीय सोनाम तामाङ, भीनपा–९ लाकुँरीडाँडाका राजु तामाङ र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका, खागिलुङ घर भएका पासाङ शेर्पा र नुर्वु शेर्पासहित ५ जना बोचको एक होटलमा बसेर सामुहिक मदिरा सेवन गरेका थिए । राति करिव १० बजे उनीहरु वीच विवाद भएपछि पासाङ र नुर्वुले सोनामलाई कुटपिट गरी टाउको लगायतका संवेदनशील अङ्गमा गाडीको फलामे डण्डि (ह्विल पाना) ले प्रहार गरेका थिए ।
कुटपिटवाट गम्भीर घाइते भएका सोनामलाई फागुन १ गते विहान करिव ३ बजे लामोसाँगु–जिरी सडक अन्तर्गत बोच  सडक खण्डमा बा ८४ प १११३ नम्बरको मोटरसाईकलसहित रक्ताम्य अवस्थामा फेला पारिएको थियो । सोनामलाई घटनावाट उद्धार गरी अस्पताल लगिए पनि उनको उपचारको क्रममा मृत्यु भएको थियो ।  सो घटनामा टिपर चालक सुदिप तामाङ र राजु तामाङले भागेर ज्यान जोगाएको बयान दिएका छन् । हामीसँगको कुराकानीमा टिपर चालक तामाङले पासाङ र नुर्वुले एक्कासी कुटपिट गरेपछि आफुहरुले भागेर ज्यान जोगाएको बताएका छन् । चालक तामाङले मृतक सोनाम र आफुहरुको पासाङ र नुर्वुसँग कुनै विवाद नरहेको बताए । पासाङ सुदिपले चलाउने टिपर गाडीका धनी हुन् भने नुर्वु, पासाङको मामाको छोरा हुन् ।
दोलखा प्रहरीले सिन्धुपाल्चोक घर भएका सवारी धनी  अन्दाजी ४५ वर्षीय पासाङ र उनका मामाका छोरा २१ वर्षीय नुर्वु शेर्पालाई अदालतवाट एक साताको म्याद थप गरी हिरासतमा राखेर अनुषन्धान गरिरहेको छ ।