images
images

कतारका राजा आज नेपाल आउँदै, राष्ट्रपति आफैँले स्वागत गर्ने

  • ११ बैशाख २०८१, मंगलवार ०६:१९

काठमाडौँ । कतारका शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउनुहुने भएको छ ।

८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो । कतारका अमिरले राष्ट्रपति पौडेलसँग आजै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । यस्तै भोली उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्धिपक्षीय भेटवार्ता गर्नुहुने भएको छ । भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद लगायत समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।

कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुने भएका छन् । खाडी राष्ट्रहरुबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरीको भ्रमण हो । नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले अमिरको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्नुका साथै भ्रमणका अवसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । अल थानी दुईदिने राजकीय भ्रमणका लागि आज नेपाल आउँदा उहाँलाई स्वागत गर्न नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुने भएको छ ।

कतारी अमिर थानीको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृत राईले जानकारी दिनुभयो । राजाको स्वागतको लागि सरकारले हिजोराति राजारात काठमाडौँका सडक मर्मत गरेको थियो । आज सार्वजनिक बिदा दिएको सरकारले रातारात सडक सफा पारेको हो । बदलिँदो विश्व भूराजनीतिक परिदृश्यमा कतार पछिल्लो समय महत्वपूर्ण शक्ति राष्ट्रका रुपमा देखा परेको छ । कतारले रणनीतिक मुलुकका रुपमा आफ्नो भूमिका विस्तार गर्दै लगेको छ भने खाडी क्षेत्रका मुलुकहरुबीच मध्यस्थता र शक्ति सन्तुलनमा पनि भूमिका खेल्दै आएको छ ।