images
images

२६ दिनकी बालिका चोरी गरेको कसुरमा तीन जना पक्राउ

  • १२ फाल्गुन २०८०, शनिबार ०७:३१

काठमाण्डौँ । थापाथलीस्थित प्रसूति गृहबाट काभ्रेपलाञ्चोकको बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् ।

हिजो काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौंको कपन बस्दै आएकी २२ वर्षीया सबिना श्रेष्ठको २६ दिनकी छोरी चोरी भएको थियो । बालिका चोरी गरेको आरोपमा दैलेख घर भई हाल काठमाडौँको काँडाघारीमा डेरा गरी बस्दै आएकी २४ वर्षीया मनीषा सिंहसहित तिन जना पत्राउ परेका हुन् । गएराती उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डौँबाट खटिएको टोलीले करिब १२ बजे काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

बालिका चोरी कसुरमा मनिषाकै दिदि र श्रीमानसमेतको संलग्नता रहेको पाईएको छ । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि उनले बालिकाको चोरी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । २६ दिने नाबालिकाको फलोअप उपचारका लागि सविना जेठानीसहित प्रसूतिगृह गएकी थिइन् । जन्डिसको बिरामी शिशुको उपचारको लागि अस्पताल पुगेका देउरानी जेठानी डाक्टरको पालो कुर्ने लाइनमा रहेका थिए ।

सोही बेला लाइनमै रहेकी मनिषाले एकछिन म समातिदिन्छु भन्दै बच्चा लिएकी थिइन् । त्यसपछि उनी बच्चा लिएर फरार भएकी थिइन् । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।