images
images

दोलखामा तीन महिनामा १ सय ७१ मानिस बेपत्ता, ५८ जना आए सम्पर्कमा

  • १० पुष २०७९, आईतवार १०:०२

जिरी (दोलखा) । बागमती प्रदेशमा तीन महिनामा दोलखासहित विभिन्न जिल्लाका ८ सय बढी मानिस बेपत्ता भएकोमा हालसम्म २ सय ३३ जना फेला पारी आफन्तको जिम्मा लगाइएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रदेशको १३ मध्य काठमाडौ उपत्यकका तीन जिल्ला बाहेक १० जिल्लामा ८ सय २३ जना मानिस बेपत्ता भएकोमा हालसम्म २ सय ३३ जना फेला पारी आफन्तको जिम्मा लगाएको हो । प्रदेश प्रहरी कार्यालय हेटौँडाले बेपत्ता भएका मानिसको खोजी कार्यका लागि नयाँ अभियान घर फर्काउने (गोहोम) अभियान सुरु गरेको थियो । सो अभियान अन्र्तगत बागमती प्रदेश प्रहरी कार्यालय मातहतका १० जिल्लामा गत असोज ५ गतेबाट मङ्सिर मसान्तसम्ममा २३३ जना बेपत्ता भएका मानिस फेला पारी आफन्तलाई बुझाइएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिनुभयो ।

सो अवधिमा बागमती प्रदेशको १० जिल्लामध्य सबै भन्दा बढी दोलखामा १ सय ७१ जना बेपत्ता भएका छन् । तीमध्य जिल्ला प्रहरी कार्यालय दोलखाले हालसम्म ५८ जना मानिस फेला पारेर आफन्तको जिम्मा लगाएको छ । यसैगरी, रामेछापमा १ सय ३२ जना मानिस बेपत्ता भएकोमा ९ जना, सिन्धुपाल्चोकमा ६३ जना हराएकोमा १३ जना, सिन्धुलीमा ८६ जना हराएकोमा ४१ जना, काभ्रेपलाञ्चोकमा ६२ जना बेपत्ता भएकोमा १५ जना, मकवानपुरमा ७७ जना हराएकोमा ४५ जना, चितवनमा १३२ जना बेपत्ता भएकोमा २५ जना, धादिङमा ६० जना हराएकोमा ११ र नुवाकोटमा ३१ जना मानिस बेपत्ता भएकोमा सात जना मानिस फेला परेको अभिलेख रहेको छ ।

उता, रसुवामा ९ जना मानिस बेपत्ता भएकोमा सबै फेला पारी आफन्तको जिम्मा लगाइएको प्रहरी उपरिक्षक रेग्मीले बताउनुभयो । अझै ५ सय ९० जनाको खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।