images
images

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै, नेकपा एस अन्योलमा

  • १९ चैत्र २०८०, सोमबार ०६:५३

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले बागमतीमा हाम्रो नेपाली पार्टी (हानेपा) लाई सहभागी गराएसँगै विश्वासको मत लिन लागेका हुन् । बागमतीमा नेपाली कांग्रेसले सरकारको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था बनेको हो । सरकार टिकाउन बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको मत आवश्यक पर्दछ । प्रदेशसभामा नयाँ गठबन्धनमा नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१ र नेकपा एकीकृत समाजवादीका ७ गरी ५५ जना सांसद रहेका छन् । हानेपाका एक सांसदपनि सरकारमा सहभागि भएपछि गठबन्धनको पक्षमा ५६ मत पुग्नेछ ।

तर, नेकपा एकीकृत समाजवादीले यथास्थितिमा मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिन नसक्ने बताएपछि बागमतीको राजनीति तरंगित भएको छ । नेकपा एसले बागमतीमा आलोपालो मुख्यमन्त्री र मन्त्रालयको न्यायोचित बाडफाँट हुनुपर्ने बताएको छ । नेकपा एसले अघि सारेका माग गठबन्धनले सम्बोधन गरे मात्रै विश्वासको मत जुट्ने अवस्था छ ।

एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलका नेता कृष्ण खनालले यथास्थितिमा विश्वासको मत दिन नसकिने बताउनुभयो । हिजो माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालबीच भएको छलफलमा पनि नेता नेपालले बागमती र कोशी मध्ये एक प्रदेशको मुख्यमन्त्री दाबी गरेका थिए ।