images
images

यसरी जोगियो बागमती प्रदेश सरकार, मुख्यमन्त्री जम्कट्टेलले लिए तेस्रो पटक विश्वासको मत

बागमती प्रदेशमा माओवादी नेतृत्वको सरकार जोगिएको छ । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै संकटमा परेको बागमती प्रदेश सरकार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएसँगै जोगिएको हो ।

निकै रस्साकस्सी र मेहनतका वीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत पाएका छन् । बागमती प्रदेशसभामा आज भएको विश्वासको मतमा मुख्यमन्त्रीलाई ५६ सांसदले मत दिएका छन् । मुख्यमन्त्री जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका एक गरी ५६ सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसका ३७ जना सांसदले भने विपक्षमा मत दिएका छन् । प्रदेशसभाका दुई दल (राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टी)तटस्थ रहेका छन् । दुई दलका १५ सांसद तटस्थ रहेका हुन् । हाम्रो नेपाल पार्टीकी सांसद सरीता खड्की सुत्केरी विदामा बसेका कारण वैठकमा अनुपस्थित थिईन् । बागमती प्रदेशमा सभामुखसहित ११० सांसद रहेका छन् त्यो मध्ये मुख्यमन्त्रीले विश्वासको मत पाउन ५६ मत आवस्यक थियो ।

१५ महिनाअघि मुख्यमन्त्री नियुक्त भएका जम्कट्टेलले आज तेस्रो पटक प्रदेशसभामा विश्वासको मत लिएका हुन् । यसअघि उनले दुई पटक विश्वासको मत लिएका थिए । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिएसँगै बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको नयाँ गठबन्धन बनेको छ । जम्कट्टेलले विश्वासको मत पुर्याउनकालागि हाम्रो नेपाल पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई चैत्र १५ गते प्रदेशको पर्यटन मन्त्री नियुक्त गरेका थिए ।

नयाँ गठबन्धनमा मुख्यमन्त्रीको दावी गरेको नेकपा एकीकृत समाजवादीले यथास्थितीमा विश्वासको मत नदिने अडान लिएपछि सोमवार विहानसम्म बागमती प्रदेश सरकार धरापमा परेको थियो । तर, केन्द्रीय नेताहरु वीच सहमती जुटेसँगै नेकपा एसले पनि मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको हो । शिर्षस्थ नेताहरुवीच भएको छलफलमा बागमती प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने भद्र सहमति भएको बताइएको छ ।

१३ पुस २०७९ मा बागमती प्रदेशभाका सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण भएको थियो । जम्कट्टेल धादिङ–१ (ख) वाट बिजयी भएका थिए । त्यस यता उनी लगातार सरकारमा छन् । जम्कट्टेल पहिलो कार्यकालमा आन्तरिक मामिला हुँदै अर्थमन्त्री बनेका थिए । उनी माओवादी, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको गठबन्धनवाट २०७९ साल पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । २०७९ साल माघ ३ गते उनले १०५ सांसदको विश्वासको मत पाएका थिए । त्यतिवेला बागमती प्रदेशसभामा रहेका ७ दल मध्ये नेपाल मजदुर किसान पार्टी वाहेक सवै दलले विस्वासको मत दिएका थिए । सरकारमा सहभागी नभएको नेपाली कांग्रेसले समेत मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिएको थियो ।

तर, त्यो गठबन्धन दुई महिनामै तोडियो । एमाले र राप्रपा सरकारवाट बाहिरिएपछि नेपाली कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादी सहितको नयाँ सरकार बन्यो । प्रदेश सभाको ठूलो दल कांग्रेस र नेकपा एसको समेतले सरकारको नेतृत्वमा दावी गरेपनि माओवादी र कांग्रेसले २÷२ वर्ष तथा नेकपा एसले बाँकी १ वर्ष सरकारको नेतृत्व गर्ने गरी सहमति भयो । सहमति वमोजिम जम्कट्टेलले दोस्रो गठबन्धनमा पनि प्रदेशको नेतृत्व हात पार्न सफल भए । २०७९ साल चैत्र ९ गते उनले दोस्रो पटक विश्वासको मत लिँदा ६७ सांसदको मत पाएका थिए ।

तर, केन्द्रमा फेरिएको सत्ता समिकरणसँगै प्रदेशमा पनि माओवादी–कांग्रेसको गठबन्धन तोडियो । गत फागुन २३ गते नेपाली कांग्रेसले समर्थन फिर्ता लिएर सरकारवाट बाहिरिएपछि मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएका हुन् । सत्तारुढ दलको समर्थन फिर्ता भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था छ ।