images
images

बागमती सरकारमा एमालेबाट चार जना मन्त्री बन्दै, तीन जना पूर्वमन्त्रीहरु दोहोरिने

  • २० चैत्र २०८०, मंगलवार १२:५४

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेकपा एमालेबाट आज थप चार जना मन्त्री नियुक्त गर्नुहुने भएको छ ।

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा एमालेले यसअघि नै मन्त्री बनेकाहरुलाई दोहोर्याउन लागेको हो । प्रदेश सरकारमा एमालेका तीनजना पूर्वमन्त्रीहरु नै दोहोरिने र एक जना नयाँ अनुहारले प्रवेश पाउने भएको हो । एमालेका चारै जना मन्त्रीलाई आज दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको स्रोतको भनाई छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ । यसअघि चैत १७ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । नेपाली कांग्रेसले छाडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिन लागेको हो ।

कांग्रेसले छाडेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त भइसेकेका छन् । मन्त्री बन्न लागेका प्रकाश पहिलो पटक मन्त्री बन्न लागेका हुन् । साथै, यसअघि रामेश्वर स्थास्थ्य मन्त्री, पोख्रेल कृषि तथा पुशपन्छी विकासमन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री रहेका थिए । प्रदेसभाको अघिल्लो कार्यकालमा एमाले दुई महिना सरकारमा बसेर २०७९ साल चैत १० गते बाहिरिएको थियो ।