images
images

बागमती प्रदेशका नव नियुक्त ४ मन्त्रीद्धारा शपथ ग्रहण

  • २० चैत्र २०८०, मंगलवार १७:४९

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेशका नवनियुक्त चारै जना मन्त्रीलाई शपथ ग्रहण गराउनुभएकोे हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेकपा एमालेबाट थप चार जना मन्त्री नियुक्त गर्नुभएको थियो । प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु हुँदा एमालेले यसअघि नै मन्त्री बनेकाहरुलाई दोहो¥याएको छ । प्रदेश सरकारमा एमालेका तीनजना पूर्वमन्त्रीहरु नै दोहोर्याएका छन् भने एक जना नयाँ अनुहारले प्रवेश पाएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी तथा सिँचाइ मन्त्रालयमा एकालाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठलाई मन्त्री नियुक्त गर्नुभएको हो । यसअघि चैत १७ गते एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भइसकेका छन् । नेपाली कांग्रेसले छाडेका ६ वटा मन्त्रालयमध्ये एमालेले ५ वटा मन्त्रालयको नेतृत्व लिएको हो । कांग्रेसले छाडेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य नियुक्त भइसकेका छन् ।

प्रकाश पहिलो पटक मन्त्री बन्न लागेका हुन् । साथै, यसअघि रामेश्वर स्थास्थ्य मन्त्री, पोख्रेल कृषि तथा पुशपन्छी विकासमन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री रहेका थिए । प्रदेसभाको अघिल्लो कार्यकालमा एमाले दुई महिना सरकारमा बसेर २०७९ साल चैत १० गते बाहिरिएको थियो ।

यसअघि हिजो एकिकृत समाजवादीबाट रमा आलेमगर मन्त्री नियुक्त भई आज बिहान शपथ ग्रहण गरेकी थिइन् । हालसम्म बागमती प्रदेशमा १२ मन्त्रालयमा १३ मन्त्री नियुक्त भइसकेका छन् । मुख्यमन्त्री जम्कट्टेललको नेतृत्वमा माओवादी केन्द्रका ४, एमालेका ५, एकीकृत समाजवादीका ३ र हाम्रो नेपाली पार्टीका १ मन्त्री नियुक्त भएका हुन् ।