images
images

दोलखामा बन्द रहेको ओरिण्ड म्याग्नेसाइटको बारेमा सरकारले छिट्टै निर्णय गर्छःमन्त्री भण्डारी

  • २३ चैत्र २०८०, शुक्रबार २२:४५

जिरी(दोलखा) । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोलखामा बन्द अवस्थामा रहेको ओरिण्ड म्याग्नेसाइट उद्योगको बारेमा सरकारले छिट्टै निर्णय गर्ने बताउनुभएको छ ।

जिल्लाकोे भीमेश्वर नगरपालिका–९ खरिढुंगास्थित ओरिण्ड म्याग्नेसाइट लामो समयदेखि बन्द रहेको बेला उहाँले सरकारले सञ्चालनमा ल्याउनेबारे छिट्टै निर्णय गर्ने बताउनुभएको हो । दोलखाको पर्यटकीय नगरी जिरीमा आज दोस्रो जिरी महोत्सवको उद्घाटन गर्दै मन्त्री भण्डारीले म्याग्नेसाइट सञ्चालनमा ल्याउन र केन्द्रमा गएर अड्किएको जिरी तालको फाइलको बारेमा मन्त्रीपरिषदमा छलफलको विषय बनाउने बताउनुभयो । उहाँले सरकारले छिट्टै मोडालिटी तयार गरी राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको म्याग्नेसाइडको विषयमा निर्णय गर्ने प्रतिवद्धता जनाउनुभयो । महोत्सवको उद्घाटन समारोहमा दोलखाका राजनीतिक दलका नेताहरु र जनप्रतिनिधिहरुले मन्त्री भण्डारी समक्ष दोलखामा खानी सञ्चालनमा ल्याउनुपर्ने र जिरी ताल निर्माणको लागि सहयोग गर्नुपर्ने लगायतका माग राख्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेलले जिरीको पर्यटन विकास र जिरी ताल निर्माणको बारेमा मन्त्री भण्डारीको ध्यानाकर्षण गर्नुभएको थियो ।

साथै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भण्डारीले आगामी वर्षको बजेट कृषि, उद्योग र पर्यटनलाई प्राथकितामा राखेर कार्यान्वयन गर्ने बताउनुभयो । मन्त्री भण्डारीले नेपालका सबै प्रकारका उद्योगहरु सरकारले ‘प्रोमोसन’ गर्न चाहेको बताउनुभयो । नेपालमा उत्पादन भएका वस्तुहरु १५ प्रतिशत बढी मूल्यमा भएपनि सरकारले प्राथमिकतामा राखेर खरिद गर्ने बातावरण मिलाउने भण्डारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘नेपाली बजारले आज जुन असन्तुलन भोगिरहेको छ त्यो व्यापार घाटा न्यूनिकरण गर्न सरकारले आवश्यक योजना बनाउने छ, त्यसमा निर्यातजन्य उत्पादनमा सरकारको प्राथमिकता रहनेछ । ’ हाल भोगीरहेको व्यापार घाटा न्यूनिकरण गर्न सरकारले आवश्यक योजना बनाउने भण्डारीको भनाई छ ।