images
images

बागमती प्रदेश सरकारः गौतम बुद्ध क्रिकेट रंगशालाका लागि करिब ५२ करोड लगानी गर्ने

  • २३ माघ २०८०, मंगलवार १४:४७

हेटौँडा । बागमती प्रदेश सरकारले चितवनको भरतपुरस्थित गौतम बुद्ध क्रिकेट रंगशालाका लागि करिब ५२ करोड लगानी गर्ने भएको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले रंगशाला निर्माणको प्रथम चरणका लागि करिब ५२ करोड रुपैयाँ लगानी गर्ने भएको हो । भरतपुरस्थित कृषि क्याम्पसको जग्गामा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण थालेर छाडेको सो रंगशाला निर्माणका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट बेहोर्ने निर्णय गरेको थियो । सोही निर्णय अुनसार ७० प्रतिशत प्रदेश सरकारले बेहोर्ने भएको बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बताउनुभयो । रंगशाला निर्माणका लागि प्रथम चरणमा ७५ करोड रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ । पहिलो चरणमा खेल मैदान र प्यारापिट तयार गरेर खेल्न मिल्ने बनाउन लागिएको हो ।

प्रदेश सरकारले ७० प्रतिशत लगानी गर्नेभएपछि बाँकी रकम भने संघीय सरकारको अनुदानमा लिने तयारी गरिएको छ । रंगशाला निर्माण गर्न अपुग रकम भने भरतपुर महानगरपालिकाले थप गरी रंगशाला बनाउने छ । प्रदेश सरकारको बजेट सुनिश्चितसँगै बहुवर्षीय ठेक्का लगाएर काम गरिने भएको छ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयसँग भरतपुर महानगरपालिकाले जग्गाको सम्झौता गरी रंगशालाको काम अघि बढाएको छ ।

यसअघि, संघीय सरकारले गत पुसमा बागमती सरकारसँगको साझेदारीमा रंगशाला बनाउन भरतपुर महानगरपालिकालाई सहमति दिएको थियो । रंगशालाका लागि लिज ऐनअन्तर्गत जग्गा लिनुपर्ने भएपछि मन्त्रीपरिषद्को बैठकबाट सहमति दिइएको थियो । सो सहमतिसँगै रंगशाला संयुक्त लगानीमा बन्ने निश्चित भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड रुपैयाँ ऋण लागेपछि दुई वर्षअघि निर्माणको काम छाडेपछि रंगशाला अलपत्र बनेको थियो ।