images
images

माधवलाई भेट्न नेताहरुको ताँती, प्रचण्ड र ओलीदेखि देउवासम्म कोटेश्वर धाउँदै

  • २३ फाल्गुन २०८०, बुधबार १०:५८

काठमाडौं । सत्ता समिकरणमा परिवर्तन आएसँगै राजनीतिक दलहरुले भेटवार्तालाई तीब्रता दिएका छन् ।

हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले अध्यक्ष केपी शर्मा ओली हुँदै कांग्रेस सभापति शेरबहादुर देउवाका साथै दोस्रो तहका नेताहरु समेत एकीकृत समाजवादी नेपालमा अध्यक्ष माधव कुमार नेपाललाई भेट्न दौडधुपमा छन् । उनीहरुले महत्वका साथ एसका अध्यक्ष नेपाललाई भेटवार्ता गरिरहेका छन् । यतिखेर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुग्नुभएको छ । पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न पत्नी आरजु र नेता रमेश लेखकसहित देउवा नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको हो ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको छ । नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटवार्ता गर्नुलाई कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ । यसअघि हिजो बेलुकी नेपालसँग प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीले भेटवार्ता गर्नुभएको थियो ।

नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा एकीकृत समाजवादीलाई समेट्न प्रधानमन्त्री प्रचण्ड र ओलीले नेपालको साथ खोज्दै धमाधम भेटवार्ताको लागि जाने गरेको बुझिएको छ । यसअघि सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो । यस्तै, प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच पनि आज विहान भेटवार्ता भएको छ ।