images
images

जिरी महोत्सवमा व्यवसायी, समाजसेवी र पत्रकार सम्मानित

जिरी(दोलखा) । जिरी महोत्सवमा उद्योगी, व्यवसायि, समाजसेवी र पत्रकार सम्मानित भएका छन् ।

जिरी उद्योग वाणिज्य संघले दोस्रो जिरी महोत्सवको अवसरमा २१ जना व्यक्तिहरुलाई सम्मान गरेको हो । महोत्सवमा संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिका सदस्य जिपछिरिङ लामा, जिरी नगरपालिकाका प्रथम नगरप्रमुख टंक बहादुर जिरेल, डिबी बस्नेत, रामेश्वर मानन्धर सम्मानित भएका छन् ।

लामालाई जिरी उद्योग वाणिज्य संघलाई आर्थिक, वौद्धिक र भौतिक सहयोग गरेको भन्दै सम्मान गरिएको हो भने प्रथम नगरप्रमुख जिरेलले जिरी उद्योग वाणिज्य संघको भवन निर्माणमा विशेष सहयोग गरे बापत सम्मान पाएका हुन् । बस्नेतले जिरी उद्योग वाणिज्य संघ स्थापनामा सहयोग गरेको र मानन्धरले जिरी उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघमा सदस्यता प्राप्त गर्न सक्रियता कायम गराउन सहयोग पुर्याएको भन्दै सम्मानपत्रबाट सम्मान गरिएको छ । यसैगरी जिरी उद्योग वाणिज्य संघले संघका पूर्व अध्यक्ष, पूर्व उपाध्यक्षलाई पनि सम्मान गरेको छ । जिरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरु सुदर्शन कार्की र भूमिराज खड्का सम्मानित भएका छन् ।

यसैगरी तत्कालीन दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाका संस्थापक अध्यक्ष स्वर्गीय मोहन केसी, दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाका पूर्व अध्यक्ष स्वर्गीय टहल बहादुर खड्का सम्मानित भएका छन् । उनीहरुको सम्मानपत्र परिवारका सदस्यलाई हस्तान्तरण गरिएको छ । यस्तै, दोलखा उद्योग वाणिज्य संघ जिरी शाखामा तीन कार्यकाल प्रथम उपाध्यक्ष भएका सोनाम शेर्पा, भातृसंस्था दोलखा उद्योग वाणिज्य संघ, दोलखा उद्योग वाणिज्य संघ जिरी शाखाका पूर्व अध्यक्ष तथा सरसफाई अभियान्ता कृष्ण सुवाल, संघका अर्का पूर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ, मधुकुमार कार्की लगायत सम्मानित भएका छन् ।

जिरी उद्योग वाणिज्य संघले महोत्सवको अवसरमा वरिष्ठ फोटो पत्रकार चन्द्र शेखर कार्की, सामाजिक अभियान्ता केन्द्र ज्योति खड्का, पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएबापत लिलाराम खड्का, सफल किवी व्यवसायि पासाङ तेञ्जी शेर्पा, पशुपालन व्यवसायि शेर बहादुर श्रेष्ठ, हस्तकला उद्यमी सुस्मा श्रेष्ठ र दलबहादुर श्रेष्ठलाई पनि सम्मान गरेको छ ।

यसैबीच, दोलखाका वरिष्ठ एवम् पुराना पत्रकार लक्ष्मण खड्का पनि सम्मानित भएका छन् । जिरी नगरपालिकाको पर्यटन, उद्योग र संस्कृतिलाई पत्रकारिताको माध्यमबाट प्रवद्र्धन गरेको भन्दै जिरी उद्योग वाणिजय संघले खड्कालाई सम्मान गरेको हो । जिरीदेखि पत्रकारिताको सुरुवात गरेका खड्का हाल जिरीमा सञ्चालनमा रहेको जिरी एफएमका अध्यक्ष समेत हुन् । करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका खड्काले विकास निर्माण, पर्यटन, उद्योग, कृषि लगायत विभिन्न क्षेत्रसँग सम्बन्धीत विषयवस्तुलाई उठान गर्दै आएका छन् । राष्ट्रिय दैनिक पत्रपत्रिकामा लामो समय काम गरेका उनले विगत १७ वर्षदेखि जिल्लामै नीजी मिडिया सञ्चालन गर्दै आएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष र सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याव)का पूर्व कोषाध्यक्ष खड्का हाम्रो रेडियो, जिरी एफएम र हाम्रो अपडेट अनलाईका संस्थापक हुन् ।

सम्मान हुने सबै जनालाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, उद्योग वाणिज्य संघ जिरीका अध्यक्ष बाबुराजा श्रेष्ठ लगायतले सम्मान पत्र प्रदान गरेका थिए ।