images
images

शान्तिपूर्ण निर्वाचन, कर्तव्य ज्यान र अपराधका घटनामा दोलखा प्रहरीको सफलताः डिएसपी पौडेल

  • २४ माघ २०७९, मंगलवार १५:५२

दोलखा । दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले आफु सरुवा भएर जानु अघि आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखामा आज पत्रकार सम्मेलन गर्दै डिएसपि पौडेलले आफ्नो कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका हुन् । उनले भिमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिकाको झ्याँकुमा भएको मृत्यु प्रकरण लगायतका ज्यान मुद्धामा भएको सफलतालाई आफ्नो प्रमुख उपलब्धिको रुपमा लिएका छन् । भीमेश्वर नगरपालिका वडा नम्बर ३ को जंगलमा हात र खुट्टा भाँचेर कर्तव्य गरि खाल्डो खनेर पुरिएको अवस्थामा भीमेश्वर नगरपालिका वडा नम्बर २ का साहिल तमाङको शव फेला परेको थियो । सो घटनामा संलग्न भएका तीन जना बालकलाई पक्राउ गर्न सफल हुनुलाई डिएसपी पौडेलले सफलता मानेका छन् ।

यस्तै दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ का यान बहादुर बस्नेतको शंकास्पद मृत्यु भएको घटनामा अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गरिएको विषयलाई डिएसपी पौडेलले आफ्नो उपलब्धीमा उल्लेख गरेका छन् । बस्नेतको घाँटीमा डोरी लगाइएको अवस्थामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा उनकी प्रेमिका र एक बालकको संलग्नतामा सो घटना भएको खुलेको थियो । घटनामा संलग्न भएकामध्ये एक महिला कारागार चलान भएकी छिन् भने बालकलाई सुधारगृहमा पठाइएको विषय डिएसपी पौडेलले आफ्नो कार्यकालको उपलब्धीमा समावेश गरेका छन् ।

पत्रकार सम्मेलनमा डिएसपि पौडलले बलात्कार लगायतका मुद्धाहरुमा पनि सफलता हासिल गरेको बताएका छन् । उनले स्थानीय तहको निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्बक सम्पन्न गर्नुलाई पनि आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धिको रुपमा लिएका छन् । उनले निर्वाचनमा तनाव हुँदा पनि मानिसको ज्यान जानेगरी कुनै घटना नहुनुलाई सफलताको रुपमा लिएको बताएका छन् । डिएसपि पौडेलले दोलखाको भीमेश्वर नगरपालिका ३ मा नगद १ लाख १५ हजार र २ तोलाको सुन लगायतका गरगहना लुटी फरार भएका एक युवकलाई पक्राउ गरी कारागार चलान भएको विषयलाई पनि सफलताको रुपमा उल्लेख गरेका छन् ।

बिगु, कालिञ्चोक र जिरीमा छुट्टाछुट्टै भएका जवरजस्ती करणीका घटनामा सफलता प्राप्त गरेको डिएसपि पौडेलले उल्लेख गरेका छन् । उनले ती घटनामा संलग्न तीन जनालाई पक्राउ गरी थप अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत कारागार चलान भएको विषयलाई पनि उपलब्धिको रुपमा लिएका छन् ।डिएसपि पौडेलले फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका ३९ जना फरार प्रतिवादी पक्राउ गरी निजहरुबाट २१ बर्ष ८ महिना १३ दिन कैद र १७ लाख २३ हजार ९६ रुपैया जरिवाना समेत असुल गरिएको जनाएका छन् । यस्तै, विपद् व्यवस्थापनमा स्थानीय समुदायहरुसँग समन्वय गरी छिटो सुचना प्रवाहको लागि समिति गठन, जुवातास, सट्टाबाजीलाई नियन्त्रण पनि आफ्नो महत्वपूर्ण कामको रुपमा लिएका छन् ।

यस्तै, जिल्ला सदरमुकाम तथा अन्य मुख्य बजारहरुमा सिसिटिभि राख्नको लागि पहल गरिएको, चरिकोट बसपार्क व्यवस्थापनको लागि सम्बद्ध निकायहरुसँग समन्वय, अबैध नदिजन्य पदार्थ रोकथामका लागि प्रहरी टोली गठन लगायतका विषयमा पनि प्रयास गरेको बताएका छन् ।