images
images

दोलखामा १ लाख ६२ हजार मतदाता, फागुन २८ गतेबाट नामावली अद्यावधिक गरिने

  • २४ फाल्गुन २०८०, बिहीबार १८:०२

दोलखा । दोलखामा यही फागुन २८ गतेबाट मतदाता नामावली अद्याबधिक कार्यक्रम सुरु हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी गराएको हो । जिल्लामा फागुन २८ देखि चैत्र २२ गतेसम्म मतदाता नामावली अद्याबधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन कार्यालय दोलखाले जनाएको छ । जसअनुसार यही फागुन २८ गते आयोगको वेभसाईटमा मतदाता नामावली प्रकाशन हुने छ । सोही अनुसार फागुन २९ गते मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिनुपर्नेछ । दोलखामा २०८० बैशाख १४ गतेसम्म कुल मतदाताको संख्या १ लाख ६२ हजार ३ सय ८० रहेको छ । जसमध्ये पुरुष ८२ हजार १ सय ९१ र महिला ८० हजार १ सय ८९ रहेका छन् ।

यस्तै, चालु वर्षको साउनदेखि फागुन १३ गतेसम्मको अवधिमा २ सय ४१ महिला र १ सय ३२ जना पुरुष गरी ३ सय ७३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दोलखाका निमित्त प्रमुख विशाल केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटी, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर, वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद वाग्ले, कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक प्रसाद शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सभापति दिनेश बस्नेत लगायतको सहभागिता रहेको थियो ।