images
images

पाँच वर्षमा पनि पुरा भएन तामाकोशी–काठमाडौं विधुत प्रसारण लाइन, अझै ७ वटा टावर बन्न बाँकी

  • २५ चैत्र २०८०, आईतवार ०८:०२

दोलखा । तामाकोशी–बाह्रबीसे–काठमाडौं (२२०–४००) केभी बिधुत प्रसारण लाइनको पहिलो खण्डको ३२ किलोमिटर क्षेत्रमा लाइन तान्ने काम पूरा भएको छ ।

खिम्ती–बाह्रबीसे पहिलो खण्ड ४४ किलोमिटर लामो रहेकोमा करिव ५ वर्षको अवधिमा ३२ किलोमिटर क्षेत्रमा लाइन तान्ने काम पूरा भएको हो । प्रसारण लाइनको कुल ११८ वटा टावर निर्माण गर्नु पर्नेमा १११ वटा टावर बनाउने काम पुरा भएको आयोजनाका सहायक प्रवन्धक गजेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाका दुई वटा टावरको काम सुरु हुन सकेको छैन भने ५ वटा टावर निर्माणको काम भइरहेको छ । सिन्धुपाल्चोकको बाह्रबीे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा ५ वटाको जग तयार पार्ने र टावर उठाउने काम भइरहेको छ भने बाह्रबीसे नगरपालिकाको एउटा र दोलखाको मेलुङ गाउँपालिका–७ सितलीमा अर्को टावर निर्माणको काम सुरु हुन सकेको छैन ।

मेलुङको सितली र रामेछापको ३ वटा टावर तथा तारमुनी पर्ने जग्गाको शतप्रतिशत मुआब्जा मागेका कारण काम अघि बढ्न सकेको छैन । सितली र सिन्धुपाल्चोकको बाह्रबीसेको केही जग्गाको मुल्याँकन समेत हुन बाँकी रहेको छ । सहायक प्रवन्धक यादवले सिन्धुपाल्चोकमा निर्माण गरिने केही टावरको डिजाइन परिवर्तन भएको र थपिएका टावरको सामान आयातमा अर्थ मन्त्रालयको सहमति लिन समय लागेका कारण काममा ढिलाइ भएको छ ।

तामाकोशी र सुनकोशी नदी बेसिनमा उत्पादन भएको बिजुलीलाई काठमाडौं लैजान तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माणको काम भइरहेको हो । प्रसारण लाइनको पहिलो खण्डमा ७ वटा टावर निर्माण हुन बाँकी रहेको र १२ किलोमिटर लाइन तान्न बाँकी रहेका कारण सिन्धुपाल्चोकको १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी लगायतका जलबिधुत आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न सकिएको छैन । प्रसारण लाइन निर्माणको काम पुरा भए सिन्धुपाल्चोकमा उत्पादित बिजुली बाह्रबीसेवाट खिम्ति हुँदै तराई र काठमाडौंसम्म पुग्ने छ ।

तामाकोशी–काठमाडौं बिधुत प्रसारण लाइनको पहिलो खण्ड (खिम्तीदेखि बाह्रबीेसे सम्म) को जिम्मा पाएको चीनियाँ कम्पनीसंगको ठेक्का तोडिएपछि भारतको केइसी इन्टरनेशनल लिमिटेडसंग सन् २०१९ को मे महिनामा ठेक्का सम्झौता भएको थियो । ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनकालागि कार बाहेक ७१ करोड ७७ लाख ९७ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
प्रसारण लाइन निर्माणको काम सन् २०२१ को अक्टोबरमा सम्पन्न गर्नु पर्ने भएपनि समयमै काम हुन नसकी पटक–सम्झौता अवधी थपिदै आएको छ । हालसम्म प्रसारण लाइनको ९५ प्रतिशत भौतिक एवँ वित्तिय प्रगती भएको आयोजनाको दावी छ ।