images
images

दोलखा रेडक्रसद्धारा विपदमा परेका २८४ घरपरिवारलाई राहत वितरण

  • २७ फाल्गुन २०८०, आईतवार ०९:५२

दोलखा । नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाले २२ महिनाको अवधिमा २ सय ८४ घरधुरीलाई राहत सामग्री वितरण गरेको छ ।

रेडक्रस दोलखा शाखाले गत वर्ष २०७९/८० र चालु वर्ष २०८०/८१ को माघ महिनासम्मको अवधिमा २ सय ८४ घरधुरीलाई राहत वितरण गरेको हो । २२ महिनाको अवधिमा बाढी, पहिरो, आगलागी लगायतका प्रकोपहरुबाट प्रभावित २ सय ८४ घरधुरीलाई राहत वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति ईश्वरीप्रसाद दाहालले जानकारी दिनभयो । उहाँका अनुसार राहत वितरणबाट १ हजार २ सय ४९ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

रेडक्रस सोसाईटी दोलखा शाखाले गत आर्थिक वर्ष २ सय २८ घरधुरीलाई र चालु वर्षको माघसम्मको अवधिमा ५६ घरधुरीलाई राहत वितरण गरेको हो । जसअनुसार गत बर्ष भीमेश्वर नगरपालिकाबाट ४९ जना बाढीपहिरो पीडित, १८ जना आगलागी पिडीत र अन्य १८ जना गरी ८५ जनाले राहत पाएका छन् । यस्तै, कालिञ्चोक गाउँपालिकाबाट २६ घरधुरी आगलागी पीडित र १० घरधुरी बाढीपहिरो पीडित गरी कुल ३६ घरधुरीले राहत पाएको नेपाल रेडक्रस दोलखा शाखाकी उपसभापति रिता रिमालले जानकारी दिनुभयोे । जिल्लाको बिगु गाउँपालिकामा पहिरोपीडित र आगलागी पीडित ६/६ गरी कुल १२ घरधुरीले राहत पाएका छन् भने गौरीशंकरमा ७ घरधुरीले राहत पाएका हुन् । गौरीशंकरमा आगलागी पीडित ५ र पहिरोपीडीत २ घरधुरीलाई राहत सामग्री वितरण गरिएको थियो ।

बैतेश्वरमा आगलागी र पहिरो पीडित १८ घरधुरीले राहत पाएका छन् । दोलखाको तामाकोशी गाउँपालिकामा १९ घरधुरी पहिरो र ७ घरधुरी आगलागी पीडितलाई राहत वितरण गरिएको छ । यस्तै, मेलुङ गाउँपालिकामा १६ घरपरिवार पहिरोपीडित र ४ घरधुरी आगलागी पीडितले राहत पाएका छन् भने जिरी नगरपालिकामा १ घरधुरीले राहत पाएका छन् । शैलुङ गाउँपालिकामा १६ घरधुरी पहिरो र अग्निपीडित ७ घरधुरीलाई राहत वितरण गरिएको हो ।

चालु वर्ष रेडक्रसले भीमेश्वर नगरपालिकामा २७ घरधुरी, मेलुङ गाउँपालिकामा ८, कालिञ्चोकमा ७, बिगुमा ६, गौरीशंकरमा ५, जिरी नगरपालिकामा १ घरधुरी गरी कुल ५६ घरधुरीका २ सय ५२ जना परिवारलाई राहत वितरण गरेको हो । रेडक्रसले उनीहरुलाई त्रिपाल, कम्बल, म्याट्रेस, झुल, लत्ताकपडा लगायतका राहत सामाग्री वितरण गरेको नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाका मन्त्री भरतनारायण प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला शाखाले गत वर्ष राहत सामग्रीका अलावा रेडक्रस केन्द्रको सहयोगमा आगलागी प्रतिकार्य परियोजना मार्फत् नगद सहयोग पनि गरेको छ ।

रेडक्रसले कालिञ्चोक कटुवाचौर बजारमा आगलागी भई विस्थापित भएका १६ परिवारलाई प्रतिपरिवार १५ हजार नगद सहित खाद्यान्न सरसफाई सहितको राहत प्याकेज वितरण गरेको हो । यस्तै, चालु आर्थिक बर्ष बिगु ७ र गौरीशंकर ७ का ४ घरधुरी पहिरो पीडित परिवारलाई प्रति परिवार १५ हजार नगद सहयोग उपलब्ध गराएको सभापति दहालले बताउनुभयो ।