images
images

बागमती प्रदेशमा थपिए ६७ करोडका ४३७ योजना, कार्यान्वयनमा आशंका

  • २८ चैत्र २०८०, बुधबार ०८:००

हेटौँडा । बागमती प्रदेशमा गठनबन्धनको नयाँ सरकार बनेसँगै करिब ६७ करोडका ४ सय ३७ वटा योजना थपिएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको संयुक्त सरकार बनेलगत्तै यती धेरै टुक्रे योजना थपिएका हुन् । ५ लाखदेखि ५० लाख सम्म बजेट विनियोजन भएका ती योजना चालु आर्थिक वर्ष २०८०÷८१ भित्र कार्यान्वयन गरिसक्नु पर्नेछ । तर, चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेका कारण योजना कार्यान्वयनमा चुनौती छ । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले थपिएका योजनालाई बजेट सूचना प्रणालीमा प्रविष्ट गर्न भनिएको छ । भैपरी आउने विविध शीर्षकको बजेटबाट खर्च गर्ने गरी ४ सय ३७ वटा टुक्रे योजना थपिएको हो ।

तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, विपक्ष दल राप्रपासँगको सहमति अनुसार योजना थप गरिएको प्रदेश सरकारले जनाएको छ । यसअघि आफ्ना योजना नसमिटिएको भन्दै एमाले र राप्रपा तत्कालीन सरकारसँग रुष्ट थिए । प्रदेशसभाको गत फागुनमा बसेको बैठकले एमाले र राप्रपाका सांसदहरुको योजना समेट्नका लागि संसदीय विशेष समिति गठन गरिएको थियो । सो समितिले थपिएका योजनामा प्रस्ताव गरिएको बजेट विविध वा अन्य शिर्षक अन्तर्गतको पूँजीगत बजेटबाट रकमान्तर गर्न सुझाव दिएको थियो । बागमती प्रदेश सरकारले १ असार २०८० मा ल्याएको बजेटमा आफ्ना योजना छुटेको भन्दै एमाले र राप्रपाले प्रदेशसभामा बजेट पास गर्न दिएका थिएनन् । १८ असारमा एमाले र राप्रपाका सांसदले लिएका योजना बजेटमा समावेश गर्ने सहमति भएपछि मात्रै चालु वर्षको बजेट पारित भएको छ ।