images
images

आज ग्याल्पो ल्होसार पर्व शेर्पा समुदायले विविध कार्यक्रम गरी मनाउँदै

  • २८ फाल्गुन २०८०, सोमबार ०६:२४

आज ग्याल्पो ल्होसार पर्व शेर्पा समुदायले विविध कार्यक्रम आयोजना गरी मनाउँदैछन् ।

नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५१ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रुपमा मनाइन्छ । पुुुुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

यसैैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले पर्वले नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ । ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । यो पर्वले सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रुपले मुलुक निर्माण गर्नका लागि अघि बढ्न प्रेरणा दिने उहाँले बताउनुभयो । नेपालको हिमाली क्षेत्र मूल थलो भएका आदीवासी शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फाल्गुन शुक्लपक्ष प्रतिपदामा नयाँ वर्षका रुपमा ग्याल्पो ल्होसार मनाउने गर्दछन् ।

यस्तै ग्याल्पो ल्होसार पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचरण्डले ग्याल्पो ल्होसार प्राचीन पद्धतिमा आधारित ऐतिहासिक पर्व भएको बताउनुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेश शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताउनुभयो ।