images
images

चालु बर्ष सकिन डेढ महिना अगावै विकास निर्माणका सवै योजना सम्पन्न

  • २८ जेष्ठ २०८०, आईतवार १६:५१

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिका वडा नम्बर ६ ले चालु आर्थिक बर्ष सकिन डेढ महिना अघि नैं विकास निर्माणका काम सम्पन्न गरेको छ ।

वडापालिका मातहत चालु वर्ष संचालन हुने सवै योजनाहरु निर्माण सम्पन्न भएका हुन् । ती योजनाको अन्तिम भुक्तानी समेत भईसकेको छ । जिरी नगरपालिका वडा नम्बर ६ ले वडा कार्यालयमा आज सार्वजनिक सुनुवाईको आयोजना गरी यस्तो जानकारी दिएको हो । वडाध्यक्ष मरिचवहादुर खड्काले चालु आर्थिक बर्ष वडापालिका मातहत संचालन हुने २१ वटा योजना रहेको र ती सवै योजना जेठ १५ गते भित्रै सम्पन्न भईसकेको जानकारी दिनुभयो । चालु बर्ष विकास निर्माणका योजना सञ्चालन गर्नका लागि वडामा ६६ लाख ११ हजार बजेट प्राप्त भएको वडा कार्यालयले जनाएको छ ।

जिरी नगरपालिका वडा नम्बर ६ मा सम्पन्न भएका मुख्य–मुख्य योजनाहरुमा १० लाखको लागतमा चेप्टे सामुदायिक भवन निर्माण भएको छ भने हाँटडाँडा ढल निकासका लागि ५ लाख खर्च भएको छ । यसैगरी, ६ लाख ६१ हजारको लागतमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत हाँटडाडा वरिपरि सिढिँ निर्माण, ८ लाखको लागतमा पशु विकास फर्मदेखि तल्लो कोट सकड स्तरोन्नती, ३ लाखको लागतमा रेञ्जेदेखी दोभानघाट सकड स्तोरोन्नती, २/२ लाखको लागतमा सेतीदेवी मन्दिरमा जाने बाटो निर्माण लगायत रहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

यस्तै, वडाले यो वर्ष कृषि विकास शाखा मार्फत २२ जनालाई २ सय ४९ वटा किवीको थाग्रा र ४१ जनालाई १ हजार ८ सय २० वटा खोर्सानीको बिरुवा वितरण गरेको छ । पशु सेवा शाखा मार्फत ९ जनालाई ५० किलो जै घाँसको विउ वितरण र पोषणतर्फ ११ जना गर्भवती महिलालाई ४४ वटा चल्ला वितरण तथा १८ जना सुत्केरी महिलालाई तरकारीको बिउ वितरण गरेको जनाएको छ । यसैबीच, चालु आर्थिक वर्षको साउनदेखि बैशाखसम्म जिरी नगरपालिका ६ नम्बर वडाले १ लाख ८४ हजार ७ सय ७० रुपैयाँ राजश्व संकलन गरेको छ । सो रकम शिफारिस दस्तुर, पञ्जीकरण शुल्क, नक्सा पास, नाता प्रमाणित, घरवहाल कर लगायतवाट उठेको हो । यो वडामा चालु वर्ष पहिलो, दोस्रो र तेस्रो त्रैमासिकमा गरी ५ सय ३८ जनाले सामाजिक सुरक्षा भत्ता लिएका छन् ।

सार्वजनिक सुनुवाई कार्यक्रममा जिरी नगरपालिकाका उप प्रमुख कृष्णमाया खड्का बुढाथोकीले आगामी आर्थिक बर्ष जिरी नगरपालिकाको पूर्वाधार विकास बजेट घट्ने बताउनुभयो । संघ र प्रदेशवाट बजेटको सिलिङ घटेर आएका कारण जिरी नगरपालिकाको पनि करिव ४ करोड बजेट कटौती भएको उहाँले जानकारी दिनुभयो । उप प्रमुख खड्काले भुगोल, जनसँख्या, लागत सहभागिता, भौतिक पूर्वाधार विकास र राजश्व संकलनमा उत्कृष्ट काम गर्ने वडालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनुभयो ।