images
images

बागमतीमा सानो दलको ठूलो आँटः हानेपाले सरकार आफै हाक्ने, अरुलाई समर्थन नगर्ने

  • ४ चैत्र २०८०, आईतवार १५:०३

हेटौंडा । बागमती प्रदेशमा गठबन्धनलाई बहुमत जुटाउन निर्णायक मानिएको हाम्रो नेपाली पार्टी (हानेपा) ले नै मुख्यमन्त्रीको दावी गरेको छ ।

हिजो र आज गरी दुई दिन बसेको केन्द्रिय कमिटीको बैठकले प्रदेश सरकारका सम्बन्धमा कुनै दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय गरेको हो । जनताको विश्वासलाई कायम राख्न सरकारको नेतृत्व गर्न पार्टी तयार रहेकोे पार्टी प्रवक्ता डिल्लिश्वोर कार्की (रोहन) ले बताउनुभयो । हाम्रो नेपाली पार्टीको यस्तो निर्णयले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ । सत्ता गठबन्धनमा रहेका एमालेको २७, माओवादी केन्द्रको २१ र नेकपा एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसदमात्र हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई हाम्रो नेपाली पार्टी, नेमकिपा वा राप्रपामध्ये कुनै एक दलले समर्थन गर्न आवश्यक हुन्छ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएर एमाले–माओवादी–नेकपा एससहितको गठबन्धनलाई अल्पमतमा पारेपछि बागमतीमा हानेपा निर्णायक मानिएको छ ।

केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्ने अवस्था छैन ।